असार २४, २०८२ मंगलबार July 8, 2025

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

टीकापुर अस्पतालमा मात्र रहेको पोषण प्रवर्द्धन बहिर्गमन उपचार केन्द्र हाल वडास्तरमा रहेका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा समेत विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टीकापुर । बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ । टीकापुरमा सङ्घीय सरकार र स्थानीय पालिकाको प्रयासबाट छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषणको लेखाजोखा गरेर पोषण सुधारका कार्य भइरहेका छन् । यसका साथै प्रदेश स्वास्थ्य निर्देशनालयले समेत कुपोषण भएका बालबालिकाको खोजीमा सघाइरहेको छ ।

टीकापुर अस्पतालसहित पाँच स्वास्थ्य संस्थामार्फत बालबालिकाको पोषण लेखाजोखा गर्ने, कुपोषित बालबालिकाको उपचारका कार्य भइरहेका छन् । टीकापुरमा अहिले ३० बालबालिका शीघ्र कुपोषण भएका र एक सय २० बालबालिका कुपोषणको जोखिममा रहेका तथ्याङ्क छ । स्वास्थ्यकर्मी नै समुदायमा तौल र लम्बाइसमेत नापजाँच गरी पोषणको लेखाजोखा गर्न थालेपछि गत वर्षका तुलनामा टीकापुरमा यस वर्ष कुपोषण भएका बालबालिका बढी भेटिएका नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । सरकारले देशैभरि कुपोषणको जोखिममा रहेका बालबालिका खोजीका लागि स्मार्ट सर्भे गरेको छ, जसमा देशैभरि कुपोषित बालबालिकाको सङ्ख्या बढी देखिएको छ ।

विगतमा महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा पाखुराको नाप र तौललाई मात्र आधार मानेर गरिने कुपोषण परीक्षण हाल स्वास्थ्यकर्मी स्वयंले उचाइ र तौलका आधारमा मापन थालेपछि कुपोषण भएका बालबालिका बढिरहेका छन् । टीकापुर वनगाउँकी मीना चौधरीको दोस्रो बच्चा १५ महिनाको छ । उहाँको बच्चालाई कुपोषण भएको छ । पन्ध्र महिनामा छ केजीमात्र तौल भएपछि टीकापुर अस्पतालमा उपचारपछि उपचारात्मक तयारी खाना खुवाइरहनुभएको छ । एक महिना नियमित खाना खुवाएपछि एक केजी तौल बढेको छ ।

चिकित्सकका अनुसार तीन महिनासम्म नियमित तयारी खाना खुवाउन भनिएको छ । विगतमा राम्ररी बच्चा स्याहार गर्न नसकेकी मीना आजभोलि बच्चाकै स्याहारमा लागिरहनुभएको छ । “गाउँघर क्लिनिकमा बच्चाको वृद्धि अनुगमनका बेला स्वास्थ्यकर्मीले शीघ्र कुपोषण भएको छ भन्नुभयो”, उहाँ भन्नुहुन्छ, “पहिलो बच्चा स्वस्थ थियो, दोस्रो बच्चा राम्ररी हुर्काउन सकिएन, अहिले तयारी खाना खुवाइरहेकी छु ।”

प्रादेशिक अस्पताल टीकापुरमा शीघ्र कुपोषण भएका छ बच्चाले हाल तयारी खाना खाइरहेका छन् । अस्पतालमा वडावडामा हुने वृद्धि अनुगमन र बहिरङ्ग कक्षमा उपचार सेवा लिन आएका बच्चाबाट पहिचान भएका बच्चाको पोषण सुधारका लागि उपचार र खाना खुवाउने गरिएको अस्पतालका नर्सिङ निरीक्षक निलम रावल बताउनुहुन्छ । “यसरी आउने बच्चामा मध्यम शीघ्र कुपोषण देखिएकालाई ६० प्याकेट बालभिटा दिएर उपचार गर्ने गरिएको, पोषणको महत्वबारे आमा र परिवारका सदस्यलाई सचेत गराउने गरेका छौँ”, रावल भन्नुहुन्छ, “शीघ्र कुपोषण भएकालाई उपचारात्मक तयारी खाना दिन्छौँ ।”

यसका साथै यसरी कुपोषण भएका बच्चाको उपचार पालिकाका वडास्तरमा रहेका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा पनि हुने गरेको छ । वडास्तरमा रहेका स्वास्थ्य संस्थामा पोषण सुधारका लागि थुप्रै प्रयास भइरहेका छन् । स्वास्थ्य संस्थामै पोषण कर्नर राखेर जानकारी दिने लगायतका कार्य गर्ने गरिएको धनसिहपुर स्वास्थ्य चौकीका पोषण फोकल पर्सन तथा अनमी पुनम साउद बताउनुहुन्छ । “हामीले गर्भावस्थादेखि नै पोषणबारे जानकारी दिन्छौँ, गर्भमै हुँदा आमा र बच्चा स्वस्थ हुनुपर्छ”, उहाँले भन्नुभयो, “स्वस्थ्य जन्मिएको बच्चा सही तरिकाले स्याहार गरेमा कुपोषण हुनबाट जोगाउन सकिन्छ ।”

टीकापुर नगरपालिकाले पोषण सुधारका लागि थुप्रै प्रयास गरेको छ । विगतमा टीकापुर अस्पतालमा मात्र रहेको पोषण प्रवर्द्धन बहिर्गमन उपचार केन्द्र हाल वडास्तरमा रहेका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा समेत विस्तार गरिएको छ । हाल टीकापुर अस्पतालसहित नारायणपुर, धनसिंहपुर स्वास्थ्यचौकी, विजयनगर, अस्नेहरी सहरी स्वास्थ्य केन्द्रमा समेत उपचार केन्द्र स्थापना गरी बालबालिकाको पोषण सुधारका प्रयास भइरहेका छन् ।

टीकापुर नगरपालिकाका सिनियर अहेव अधिकृत तथा पोषण फोकल पर्सन कमलबहादुर रावल स्वास्थ्यकर्मी नै कुपोषित बालबालिका खोज्न खटेपछि अहिले बालबालिका बढेका छन् । ‘‘बालबालिका देखिने शीघ्र कुपोषण न्यूनीकरणमा जनचेतना फैलाउन स्वास्थ्य संस्थामा पोषण कर्नर, गाउँघर क्लिनिक तथा खोप कार्यक्रममा पोषणबारे जानकारी दिने, गर्भावस्थादेखि नै पोषण सुधारका कार्य गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, ‘‘साम र माम देखिएका बच्चा खोजीका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य शिविर, सर्वेक्षण, घरदैलोजस्ता कार्यमा खटाएका छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया