असार २८, २०८२ शनिबार July 12, 2025

देशको अर्थतन्त्र अब ६१ खर्ब

आर्थिक वृद्धि, पुँजीगत खर्च, राजस्व संकलन, विदेशी लगानी र मुद्रा स्थायित्वलगायतका सूचकबाट हेर्दा नेपाली अर्थतन्त्र विस्तारै सुधारको बाटोमा उन्मुख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ५७ खर्बबाट बढेर ६१ खर्ब पुगेको छ । एकै वर्षमा अर्थतन्त्रको आकार ४ खर्बले बढेको हो । अर्थ मन्त्रालयद्वारा बिहीबार सार्वजनिक तथ्यांकअनुसार अर्थतन्त्रमा सकारात्मक प्रगति भएको छ ।

आव २०८१–८२ को हालसम्मको तथ्यांकअनुसार नेपालको समग्र आर्थिक सूचकमा सुधार देखिएको छ । अर्थ मन्त्रालयले चालू आवको वृद्धिदर ४ दशमलव ६१ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जुन अघिल्लो वर्षको ३ दशमलव ८७ प्रतिशतभन्दा बढी हो । सरकारी तथ्यांकअनुसार चालू आवको २६ असारसम्ममा कुल राजस्व संकलन १० खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा राजस्व संकलन ८ खर्ब ८ अर्ब थियो । चालू आवमा गत वर्षभन्दा १ खर्ब ८ अर्बले राजस्व बढेको छ । राजस्व संकलन अघिल्लो वर्षको तुलनामा ७७ दशमलव ३४ प्रतिशत पुगेको छ । पु ँजीगत खर्चतर्फ पनि सुधार देखिएको दाबी गरिएको छ । चालू वर्षको सोही अवधिमा पु ँजीगत खर्च २ खर्ब ८ अर्ब पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ३६ अर्बले अर्थात् ५९.१३ प्रतिशत बढी हो ।

मुद्रास्फीति दरमा पनि उल्लेखनीय गिरावट आएको छ । वैशाखसम्मको उपभोक्ता मूल्य सूचकांकअनुसार मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो दर ४ दशमलव ४० प्रतिशत थियो । चालू आवमा वैदेशिक व्यापारतर्फ आयातमा १३ दशमलव १ प्रतिशत र निर्यातमा ७७ दशमलव ८ प्रतिशत वृद्धि भएको छ ।

वित्तीय सूचकांकतर्फ हेर्दा २५ असारसम्म नेप्से परिसूचक २७०५ मा पुगेको छ । अघिल्लो वर्षको सोही मितिमा नेप्से सूचक २१०० मा थियो । यस अवधिमा वाणिज्य बैंकहरूले दिएको कर्जामा पनि ८ दशमलव ७ प्रतिशतको वृद्धि भएको उल्लेख छ। गत वर्ष ५.६ प्रतिशत मात्र रहेको थियो । गत वर्षको तुलनामा वैदेशिक सहायता पनि वृद्धि भएको देखिएको छ ।

बजेटले अपेक्षा गरेजति वैदेशिक सहायता प्राप्त हुनसके पनि चालू आवको जेठसम्म १८ अर्ब ६५ करोड रुपैयाँबराबरको विदेशी अनुदान तथा ऋण प्राप्त भएको छ । अघिल्लो वर्ष सोही अवधिमा १४ अर्ब ७२ करोड रुपैयाँ सहायता प्राप्त भएको थियो ।

औद्योगिक उत्पादनतर्फ औद्योगिक वस्तुहरूको मूल्य र आपूर्ति स्थिर देखिएको छ । ऊर्जा, ग्यास, खानेपानी र सञ्चार सेवातर्फ पनि उल्लेखनीय रूपमा मूल्य स्थिरता कायम भएको बताइएको छ । वर्तमान तथ्यांकअनुसार चालू खाता घाटा पनि केही घटेको देखिएको छ । चालू खाता सन्तुलनमा देखिएको सुधार विदेशी मुद्राको सञ्चिति वृद्धि तथा रेमिट् यान्सको प्रवाह बढेको संकेत मानिएको छ ।

चालू खाता अहिले ३ खर्ब ७ अर्ब बचतमा रहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार देशमा पठाइएको रेमिट्यान्स रकम १५ दशमलव ५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स १३ खर्ब २७ अर्ब रुपैयाँ मात्र थियो । आर्थिक क्षेत्रअनुसार १८ वटा उपसूचकको तथ्यांकसमेत समावेश गरिएको छ, जसमा कृषि, पशुपालन, जलस्रोत, साना उद्योग, यातायात, सञ्चार, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्र समावेश छन् ।

अधिकांश सूचकमा अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि देखिएको छ । यस वर्षको आर्थिक वृद्धिदर, मुद्रास्फीति, राजस्व र विदेशी सहायता सबै पक्षमा देखिएको सुधारलाई अर्थ मन्त्रालयले अर्थतन्त्रमा स्थायित्वको संकेतका रूपमा व्याख्या गरेको छ । मन्त्रालयले नीति सुधार, पुँजीगत खर्चको गति र परियोजना कार्यान्वयनको प्रभावकारिता बढाउन निरन्तर प्रयास जारी राखिएको जनाएको छ । अर्थ मन्त्रालयका अनुसार मुलुकभित्र लगानीमैत्री वातावरण बन्दै गएको छ ।

नीतिगत तथा कानुनी सुधारतर्फ व्यापक प्रगति भएको छ । नीतिगत सुधारतर्फ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐेन, २०८१, निजीकरण (पहिलो संशोधन) ऐन, २०८१, भन्सार महसुल ऐन, २०८१, बै ंकिङ कसुर तथा सजाय ऐन, २०८२, भन्सार ऐ ेन अघि बढाइएको अर्थमन्त्रालयले जनाएको छ ।

त्यस्तै, वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा पेस गरिनुलाई पनि अर्थमन्त्रालयले उपलब्धि मानेको छ । पछिल्लो १ वर्षका बीचमा उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन र प्रतिवेदन कार्यान्वयन सुरु भएको, निजी क्षेत्रको गुनासा तथा मागहरू सुनुवाइ र आत्मविश्वास वृद्धि भएको, निर्माण क्षेत्रका गुनासा र माग सुनुवाइ, अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी तथा भुक्तानीको समस्या साम्य भएको अर्थ मन्त्रालयको दाबी छ ।

मन्त्रालयका अनुसार लक्ष्यअनुसारको राजस्व संकलन, पुँजीगत खर्चमा थप वृद्धि, ग्र े लिस्टबाट बाहिर निस्कने चुनौतीहरू अर्थतन्त्रमा देखिएका छन् । अर्थ मन्त्रालयका अनुसार देशभित्र लगानीमैत्री वातावरण बन्दै गएको छ । नीतिगत तथा कानुनी सुधारतर्फ प्रगति भएको छ । सरकारले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार आव २०८१–८२ मा नेपालको समग्र आर्थिक गतिविधिमा सुधारको संकेत देखिएको छ । यद्यपि, केही सूचक अझै कमजोर रहेका छन्, समग्रतः अर्थतन्त्र स्थायीतर्फ उन्मुख भएको सरकारी दाबी छ ।

आर्थिक वृद्धि, पुँजीगत खर्च, राजस्व संकलन, विदेशी लगानी र मुद्रा स्थायित्वलगायतका सूचकबाट हेर्दा नेपाली अर्थतन्त्र विस्तारै सुधारको बाटोमा उन्मुख छ । यद्यपि, उत्पादनशील क्षेत्रको वृद्धि, रोजगारी सिर्जना, कार्यान्वयनको गति र लगानीमैत्री वातावरण सुनिश्चितमा भने समस्या यथावत रहेको छ । विश्लेषकहरूको सुझावअनुसार, समावेशी र दिगो अर्थतन्त्र निर्माणका लागि दीर्घकालीन संरचनागत सुधार, प्राविधिक सुदृढीकरण, बजेटको प्रभावकारी कार्यान्वयन र सूचनाको पारदर्शिता अझै जरुरी छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया