असार २८, २०८२ शनिबार July 12, 2025

बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

विगत सात वर्षदेखि वर्षात सुरू भएलगत्तै नजिकैको सामुदायिक वनमा त्रिपाल टाँगेर परिवारसहित बस्दै छ परिवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ लठ्ठागौरीस्थित वनहरा नदी तटीय क्षेत्रका बासिन्दा वर्षेनी आउने बाढीको त्रासले वर्षात् सुरू हुनासाथ वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् ।

टेकबहादुर सलामी थापा मगर विगत सात वर्षदेखि वर्षात सुरू भएलगत्तै नजिकैको सामुदायिक वनमा त्रिपाल टाँगेर परिवारसहित बस्दै आउनुभएको छ । बाढीले घर डुबाउने भएकाले उहाँले खाद्यान्न, ओढ्ने–ओछ्याउने सामान, बालबालिका र चौपाया लिएर समयमै सुरक्षित स्थानतर्फ सर्नुहुन्छ ।

उहाँको प्रारम्भिक थातथलो डोटीको जोरायलमा पहिरोले बगाएपछि उहाँ कञ्चनपुर आइपुग्नुभएको हो । “घर पहिरोले लगेपछि हामी पूर्ण रूपमा घरवारविहीन भयौँ,” उहाँले सम्झनुभयो, “जहाँ मजदुरी पाइन्थ्यो, त्यहीँ बस्थ्यौँ, त्यसै क्रममा यहाँ आइपुग्यौँ र बस्न थाल्यौँ ।”

उहाँले नदी किनारमै जग्गा किनेकाले बाढीले पिछा गर्न भने छाडेको छैन । “थोरै जमिन किन्यौँ, तर यहाँ पनि नदीले वर्षेनी सताउँछ,” उहाँले भन्नुभयो, “त्यसैले वर्षात् सुरू भएलगत्तै वन क्षेत्रमा सर्नुपर्छ ।”

परिवार पाल्न उहाँ र उहाँकी श्रीमती मजदुरीमा निर्भर छन् । दैनिक मजदुरीबाट घरखर्च जेनतेन चलेको उहाँको भनाइ छ ।

टेकबहादुर मात्र होइन, सोही बस्तीका थप छ परिवार पनि यस्तै अवस्थामा छन् । सबैले वर्षात् सुरू हुनुअगावै वन क्षेत्रमा सरेर अस्थायी त्रिपालमा बस्न थाल्छन् ।

डडेल्धुराको आलितालबाट विस्थापित भएर आएका सितादेवी बोहरा पनि वनहरा नदी किनारमा बस्दै आउनुभएको छ । पहाडको घरजग्गा पहिरोले बगाएपछि उहाँको परिवार यहाँ बस्न बाध्य भएको हो ।

“यहाँ बस्न थालेपछि पनि बाढीले हैरान बनायो,” उहाँले भन्नुभयो, “तीन वर्षअघि त बाढीले घरभित्रको खाद्यान्नदेखि बाख्रा, गोरुसम्म बगाएर लग्यो ।”

अहिले पनि आकाशमा कालो बादल देखिनेबित्तिकै उहाँहरू डराउन थाल्छन् । “नदीमा बाढी आउने चिन्ताले घर छाडेर वनतिर लाग्नुपर्छ,“ उहाँले भन्नुभयो ।

स्थानीय राजुराम लुहार पनि घर छाडेर वनतिर जाने तयारी अवस्थामा हुनुहुन्छ । “चुरे क्षेत्रमा पानी प¥यो भने नदीको बाढी घर सम्मै आउँछ,” उहाँले भन्नुभयो, “घरमै बस्ने जोखिम लिन सकिँदैन ।”

बाढी नआएको बेला उनीहरू घरमा फर्केर दैनिक काम गर्छन । बोटविरुवा स्याहार्ने, घर लिपपोत गर्ने तर रात बस्न भने वनमै जान्छन । विगत वर्ष वडा कार्यालयले त्रिपाल वितरण गरेको थियो । ती त्रिपाल च्यातिएपछि यस वर्ष वडा कार्यालयले सात परिवारका लागि फलामका पाइप र बलियो प्लास्टिकको छानोयुक्त अस्थायी आवास निर्माण गरिदिएको वडाध्यक्ष नवलसिंह रानाले जानकारी दिनुभयो ।

“ती परिवार असुरक्षित रूपमा वनमा बस्न बाध्य थिए” उहाँले भन्नुभयो, “अब भने केही हदसम्म सुरक्षित र व्यवस्थित रूपमा बस्न सक्ने व्यवस्था मिलाइएको छ, जति वर्षा भएपछि ढुक्कसँग बस्न सक्छन् ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
२०८२ असार २८, शनिबार
चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
२०८२ असार २८, शनिबार
गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनु होस्
२०८२ असार २८, शनिबार
‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
२०८२ असार २८, शनिबार