टीकापुर, २८ असार : गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका बेला जानकी गाउँपालिका–९ का खेमबहादुर चन्दका दम्पती भने कृषि तथा पशुपालनमा जमेका छन् ।
चन्द दम्पतीले कृषि तथा पशुपालनमा आफूलाई स्थापित गर्दै लगका छन् । वडा नं ९ मा खेमबहादुर चन्द र रिजना चन्दले विसं २०७७ देखि अमरावती बाख्रापालन कृषि फार्म सञ्चालन गरी कृषि कर्म गर्दै आएका छन् । अरुणोदय मावि खैरीफाँटाको आठ बिघा १६ कट्ठा जमिन लिजमा लिएर उनीहरूले बाख्रापालन गरिरहेका छन् । अहिले उनीहरूको खोरमा ७५ बाख्रा छन् । चन्द दम्पतीले बाख्रापालनबाट वार्षिक रु पाँच लाखसम्म कारोबार गर्ने गरेका छन् । यसबाहेक सिजनअनुसारको खेतीपातीबाट समेत आम्दानी हुने गरेको उनीहरू बताउँछन् ।
सुरूमा परम्परागत रूपमा बाख्रा पालेका चन्द दम्पती व्यावसायिक बाख्रापालन गर्दा धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन् । “बाख्रापालन गर्दा विगतजस्तो चराउने चरन छैन, बाधेर बाख्रा पाल्दा बढी मेहनत गर्नुपर्छ”, खेमबहादुरले भन्नुभयो, “सामुदायिक वन उपभोक्ताले संरक्षण थालेपछि बाख्राका लागि चरन अभाव छ । बाँधेर पाल्दा दाना र घाँस बढी चाहिन्छ ।”
यही पेसाबाट जीवन चलाइरहेका चन्द दम्पतीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पनि सघाएको छ ।
“हामीजस्ता वास्तविक किसानलाई अनुदान सहयोग हुनुपर्छ । आयोजनाले गरेको सूचनाअनुसार सहयोग लिइरहेका छौँ”, रिजना चन्दले भन्नुभयो, “आयोजनाले खोर सुधार, खोर मर्मतमा सघाएको छ । घास काट्ने मेसिन, बोका सहयोग पाएका छौँ ।”
विभिन्न पालिकाले किसानलाई वितरण गर्न यहीबाट बाख्रा लिन थालेपछि उनीहरूले उत्पादन बढाउन थालेका हुन् । बजारको अभाव नभएपछि उनीहरूको ध्यान उत्पादनमा मात्र छ । यतिखेर उनीहरूको फर्म हेर्न स्थानीय कृषकहरू आउने गरेका छन् । लिजमा लिएको यही जमिनमा घाँसखेती र अन्य अन्नबाली लगाउने गर्नुभएको छ । यहाँ भएका बाख्रा स्थानीयस्तरमा पाइने जातकै छन् । बोका भने सिँचाइ आयोजनाले बयर जातको दिएको रिजनाको भनाइ छ ।
सुरूसुरूमा बाख्रा पाल्दा रोग लाग्दा समस्या झेलेका चन्द दम्पतीले आजभोलि बाख्रा बिरामी हुँदा खुवाउने औषधि र रोग बारे बुझेको बताउनुहुन्छ । “पशुपालन गर्दा हुने क्षतिबाट जोगिन बाख्राको बिमा गर्ने गरेका छौँ, पहिलो वर्ष ज्ञान नहुँदा क्षति बेहोरेका छौँ”, खेमबहादुरले भन्नुभयो, “अब त कुन रोग लाग्यो भनेर सामान्यतया अड्कल पनि गरिहाल्छौँ, अहिले त सजिलोसँग बूढाबूढी मिलेर काम गरिरहेका छौँ ।”
यही बाख्रापालन र कृषि कर्मको आम्दानीबाट चन्दका छोरा कृषि विज्ञान स्नातक तह अध्ययन गरिरहेका छन् । बुबाआमाको कृषिको लगाव देखेर होला छोराले पनि कृषि अध्ययनमा रुचि देखाएको खेमबहादुरको भनाइ छ । बाख्रापालन गरेर छोराको पढाइ खर्च, घर खर्च सबै सहजै चलेको उहाँले बताउनुभयो ।
सिँचाइ आयोजनाका पशु प्राविधिक पुष्पराज भारती चन्द दम्पतीले मेहनतअनुसारको फल लिइरहेको बताउनुहुन्छ । “मेहनत गरेर पेसामा टिक्नुभएको छ”, उहाँले भन्नुभयो, “बाख्रापालनसँगै खेतीपाती पनि गरिरहेकाले उहाँहरूलाई यही पेसामा टिक्न सहज भएको छ ।”
यस क्षेत्रका महिला पुरुष पछिल्लो समय रोजगारीका लागि भारतको बैङ्गलोर जाने गरेका छन् । यसरी जाने परिवारले सामान्यतया मासिक ३०/३५ हजार भारतीय रूपैयाँ कमाउने गरेका छन् । यतिखेर यस क्षेत्रका नेपाली दम्पती सयौँको सङ्ख्यामा बैङ्गलोरमा गएका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया