असार २९, २०८२ आइतबार July 13, 2025

नेविसंघ कार्यकर्ताबाट हातपातपछि नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प

खेलकुद विवादले चर्किँदा क्याम्पस प्रमुखमाथि हातपात, पठनपाठन अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ क्याम्पस ६ दिनदेखि ठप्प भएको छ। सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले क्याम्पस प्रमुखलगायत प्रशासकीय पदाधिकारीमाथि हातपात गरेपछि क्याम्पस प्रशासनले सुरक्षा नभएको भन्दै पठनपाठन बन्द गरेको हो।

असार २४ गते नेविसंघका केन्द्रीय सदस्य साजन देउजा र इकाई अध्यक्ष पृथ्वीजंग थापाले क्याम्पस प्रमुख दुर्गाप्रसाद भण्डारी, सहायक प्रमुख मोहनध्वज केसी र प्रशासन प्रमुख श्रीमा शर्मामाथि हातपात तथा दुर्व्यवहार गरेका थिए। उक्त घटनाबारे क्याम्पसले भक्तपुर प्रहरी परिसरमा उजुरी दिए पनि अहिलेसम्म दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन।

क्याम्पस प्रशासनका अनुसार खेलकुद सप्ताह सञ्चालन गर्ने विषयमा विवाद चर्किएर हातपातसम्म पुगेको हो। १६ वटा विद्यार्थी संगठनको सहमतिमा खेलकुद कार्यक्रम गर्न लाग्दा नेविसंघ इकाई अध्यक्ष थापाले असहमति जनाएपछि छलफलका क्रममा विवाद भएको थियो। त्यसक्रममा देउजा क्याम्पसमा प्रवेश गरेर कुटपिट र दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ।

क्याम्पस प्रमुख भण्डारीले भने, “छलफल हुँदै थियो, एक्कासी मलाई पनि हाने, प्रशासन प्रमुख र सहायक प्रमुखलाई पनि हातपात गरे। सामान्य चोट लागेको छ। प्रहरीकै उपस्थितिमा क्याम्पसभित्र छिरेर यस्तो भएको हो।”

घटना भएपछि क्याम्पस प्रशासनले सुरक्षा प्रबन्ध नभएसम्म पठनपाठन सञ्चालन गर्न नसकिने अडान लिएको छ। क्याम्पसले प्रहरीलाई दिएको पत्रमा शिक्षक, कर्मचारी र विद्यार्थीको सुरक्षाको माग राख्दै दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरिएको छ। “अमानवीय र अनैतिक व्यवहारका कारण क्याम्पस सञ्चालनमा मानसिक डर र त्रास सिर्जना भएकाले कलेज बन्द गर्नुपरेको हो,” पत्रमा उल्लेख छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले घटनाबारे प्रहरीलाई आवश्यक निर्देशन दिएको बताए। “क्याम्पसको निवेदन आएको थियो, प्रहरीलाई पठाइसकेका छौँ,” उनले भने, “असुरक्षाको कारणले क्याम्पस बन्द गरेर बस्न मिल्दैन, सुरक्षा प्रशासनले मिलाउँछ।”

तर पीडित पक्षले दिएको उजुरीका आधारमा हालसम्म कुनै कानुनी कारबाही अघि बढेको छैन। नेविसंघ इकाई अध्यक्ष थापाले सामान्य विवाद मात्रै भएको दाबी गरेका छन्। “खेलकुदका लागि मागपत्र बुझाएका थियौँ, क्याम्पस प्रशासनले हाम्रो माग नसुनी ताला फुटाएको कारण चर्काचर्की मात्र भएको हो,” उनले भने।

असुरक्षित महसुस गरेका शिक्षक तथा कर्मचारीले दोषीलाई कारबाही नभएसम्म पठनपाठन सञ्चालन गर्न नसकिने अडान लिएका छन्। घटनापछि असार २४ देखि सञ्चालन हुने खेलकुद सप्ताह र त्यसै दिनदेखि पठनपाठनसमेत ठप्प भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार