काठमाडौं । गएराति काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पर्वतमा ४५ मिलिमिटर पानी परेको छ ।
राति सङ्खुवासभामा बाढी आउने गरी ठूलो पानी परेको थियो । सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि सबैजसो प्रदेशमा पानी पर्ने तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया