काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन जना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ ।
आइतबार नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो ।
मनोनयनपछि विभाग प्रमुख ई. श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो देखेर सचिवत्रयलाई विज्ञ सल्लाहकारमा चयन गरिएको बताए ।
उनले भने, ‘नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत हो, त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरुरी छ ।’
नियुक्त भएका तीनैजना विज्ञ सल्लाहकारहरू विगतमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया