असार ३०, २०८२ सोमबार July 14, 2025

७८ लाख घुस प्रकरणमा मुछिए मन्त्री गुप्ता

मन्त्रीको जवाफ चित्तबुझ्दो नभएपछि राजीनामा गराउने प्रधानमन्त्री ओलीको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ। पुसमा नै यो प्रकरण भए पनि केही दिनअघि मात्र अडियो बाहिर आएको हो। घुस प्रकरणको यो विषयले संघीय संसद्मा समेत प्रवेश पाइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताको घुस प्रकरणमा ‘एक्सन’ लिने तयारी गरेका छन्। मन्त्री गुप्ताले पनि पार्टीको निर्देशन आए छानबिनका लागि मार्गप्रशस्त गर्ने बताएका छन्। ‘पार्टीले छानबिन गरे म तयार छु,’ मन्त्री गुप्ताले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुराकानीको अडियो, घुसबापत दिइएको नोटमा उल्लेख गरिएको नम्बरसहितको डायरी बुझाइएको छ। आयोगमा उजुरी परेपछि मात्रै अडियो सार्वजनिक गरिएको हो।

घुस प्रकरणमा जोडिएका गुप्ताको अडियोबारे प्रधानमन्त्री ओलीको निजी सचिवालयले ‘गम्भीर रूपमा लिइएको’ भनेर ब्रिफिङ गरिसकेको छ। उक्त सचिवालय स्रोतका अनुसार मन्त्री गुप्तामाथि ‘एक्सन’ लिने तयारी भएको छ। यद्यपि प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजागाईंले प्रधानमन्त्री काठमाडौं फर्केपछि घुस प्रकरणबारे बुझ्ने काम हुने बताए। ‘प्रधानमन्त्रीज्यू काठमाडौंबाहिर हुनुहुन्छ। आउनुभएपछि त्यसबारे बुझ्नुहुन्छ। मन्त्रीसँग पनि कुराकानी गर्नुहुन्छ। त्यसपछि मात्रै के गर्ने भन्ने थाहा हुन्छ,’ प्रेस विज्ञ बजगाईंले भने।

उता मन्त्री गुप्ताले पनि अहिले प्रधानमन्त्री बाहिर रहेकाले कुराकानी भइनसकेको बताए। ‘अहिले मेरो प्रधानमन्त्रीज्यूसँग कुराकानी भएको छैन,’ मन्त्री गुप्ताले भने, ‘आउनुभएपछि भेट्छु।’

कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि गुप्ता घुस प्रकरणमा मुछिएका थिए। मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी गरिएको थियो। उजुरी दर्ता भएपछि मन्त्रीले गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएको हो।

यो विषयमा कुरा गर्दैै मन्त्री गुप्ताले आफूलाई कुनै पनि जानकारी नभएको दाबी गर्दै त्यसबाट आफ्नो चरित्र हत्या भएको बताएका छन्। मालपोत कार्यालय भूमिसुधार मन्त्रालयको भएको बताउँदै उनले यसबारे अख्तियारलाई निष्पक्ष छानबिन गरिदिन आग्रह गरेको बताए। ‘घुसको डिल गर्ने को मान्छे हो म चिन्दिनँ। मालपोत मेरो मन्त्रालयमा पर्दैन। मैले आफ्नै जिल्लामा आफ्नै पार्टीको मान्छेलाई भूमि आयोगमा नियुक्त गर्न सकिनँ, यो अडियो मेरो होइन,’ उनले भने।

मन्त्री गुप्ताको अडियोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि मुछिएको छ। तर मन्त्री अधिकारीले यो विषयलाई ठाडै अस्वीकार गर्दै आफूलाई कुनै पनि जानकारी नभएको बताए। पारिवारिक काममा भारत रहेका उनले यो विषय आफूलाई जानकारी नभएको बताए । उनले गुप्ताले के भनेका हुन् भन्नेबारे आफूलाई थाहा नभएको पनि बताए। ‘ककसले केके भन्छन्? बिनाआधार किन आरोप लगाउँछन्? मन्त्री गुप्ताले के भन्नुभएको हो, मलाई कुनै जानकारी भएन,’ मन्त्री अधिकारीले भने।

अख्तियारमा भने असार १० गते नै उजुरी परेको थियो। सो उजुरीकै आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। करिब १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ताले एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनबारे कुराकानी गरिरहेको सुनिन्छ।

कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिने र भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिका विषयमा घुस डिल भइरहेको अडियोमा सुनिन्छ।

मालपोत कार्यालय प्रमुखको थमौतीका लागि मन्त्री गुप्ताले ५३ लाख रूपैयाँ लिएको उजुरी पर्नुका साथै केही रकम डिल भइरहेको पनि अडियोमा सुनिएको छ। ‘खेम पुनका लागि के । २० बुझाइदिन्छु के। भन्दिनू त बलरामलाई। भन्दिनू त मन्त्रीज्यू,’ बिचौलियाको आवाज अडियोमा सुनिएको छ। प्राप्त अडियोमा एमाले गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्न बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेको बुझिन्छ। संवाद भएकै दिन १५ लाख र भोलिपल्ट थप १० दिने अडियोमा सुनिन्छ। मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रूपैयाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो।

अडियो सार्वजनिक भएको विषयमा प्रधानमन्त्री ओली र एमालेको कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। अडियोमा सुनिएको घुसबापतको ‘डिल’को विषयमा गुप्ता संलग्न रहेको बारे एमालेका प्रवक्ता राजेन्द्र गौतमले पार्टी गम्भीर रहेको बताए। ‘मन्त्री गुप्ताको अडियो बाहिर आएपछि पार्टी गम्भीर भएको छ। मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने, को मन्त्रीको आचारण कस्तो छ भन्नेमा प्रधानमन्त्रीज्यू आफैं जानकार भएकाले पार्टीको कुनै धारणा छैन। यो प्रधानमन्त्रीको अधिकार हो,’ गौतमले भने।

उनले प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उक्त विषयमा पार्टीका तर्फबाट थप बोलिरहनुनपर्ने तर पार्टी गम्भीर रहेको पनि बताए।

स्रोतका अनुसार उक्त अडियो गएको पुस २८ गतेको हो। मन्त्रीको जवाफ चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री ओलीले राजीनामा गराउने तयारी गरेको स्रोतले बतायो। ‘मन्त्री विवादित भएपछि केही निर्णय आउन सक्छ। झापाबाट फर्किएपछि आवश्यक कदम चाल्नहुन्छ। एकपटक सोधपुछ गरिसक्नुभएको छ तर चित्तबुझ्दो जवाफ आएको छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। उजुरी परेपछि अख्तियारले पनि यो विषयमा छानबिन गरिरहेको छ। यो विषयमा संसद्मा पनि प्रश्न उठेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले दुई मन्त्रीको नाम जोडिएको गम्भीर भ्रष्टाचार मुद्दाको छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएकी थिइन्। आजको नागरिक दैनिक बाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार