असार ३०, २०८२ सोमबार July 14, 2025

कर्णालीमा बर्सेनि बढ्दै दुर्व्यसनी

लागुऔषधको अखडा बन्दै कर्णाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरेन्द्रनगर : गत बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ किलो ५ सय ४० ग्राम शुद्ध अफिमसहित जाजरकोटको जुनीचाँदे गाउँपालिका-१० का जयबहादुर बस्नेतलाई पक्राउ गरी सार्वजनिक गर्‍यो । उनलाई प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका-१० तालबारीबाट पक्राउ गरेको हो । उनीबाट अफिम तौल गर्ने डिजिटल तराजु एक थान, नागरिकता, विभिन्न बैंकका चेकहरू ५ थान, नगद ४ हजार ७ सय ३० रुपैयाँ पनि बरामद गरियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी मोहनजंग थापाले भने, ‘जाजरकोटमा उत्पादन भई त्यहाँबाट संकलन गरेर भारततिर बिक्री वितरण गर्न लैजान लागेको गोप्य सूचनाका आधारमा छिन्चुमा प्रहरी अधिकृतसहितको टोली अफिम बरामद गर्न सफल भयो । अफिम एक सय ग्राम मात्र बरामद हुँदा पनि १५ वर्षसम्म कैद र ५ लाखसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । पक्राउ परेका व्यक्तिले अफिम उत्पादनदेखि बजारीकरण गर्नेसम्म आफैं गरेका हुन् । उनीबाट बरामद भएको अफिम स्थानीय मूल्य प्रतिकिलो १ लाख ६० हजारका दरले ८ लाख ८६ हजार ४ सय मूल्य बराबरको हो । यो अफिम नेपालगन्जसम्म पुग्दा प्रतिकिलो ५ लाख र भारत पुग्दा प्रतिकिलो २० लाख बढीले बिक्री हुने प्रहरीको अनुमान छ ।

दुई महिनायता मात्र सुर्खेतमा प्रहरीले ब्राउनसुगर, चरेस, अफिम, गाँजा, ट्रमाडोलजस्ता लागुऔषध बिक्री वितरण गर्ने पाँच जना महिलासहित ४४ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शाहीले भने, ‘पछिल्लो समय कर्णालीमा लागुऔषध दुर्व्यसनी बढिरहेको जनगुनासो आउने गरेकाले प्रहरीले त्यसका विरुद्ध अभियान नै चलाइरहेको छ । अहिले सुर्खेत प्रहरीको मुख्य प्राथमिकता लागुऔषध नियन्त्रण, सामाजिक सदाचार, यौनजन्य व्यवसाय नियन्त्रण र बाह्रमासे जुवा अड्डा चलाइराखेकाहरूका विरुद्धको अप्रेसन हो । जुन अभियानबाट प्रहरीले यौनजन्य व्यवसाय गर्ने कसुरअन्तर्गत २९ जना र जुवातासमा संलग्न २१ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ ।

लागुऔषधका घटना प्रदेशभरि

लागुऔषध दुर्व्यसनका घटनाहरू सुर्खेतमा मात्र होइन, कर्णाली प्रदेशभरि नै व्यापक रूपमा हुने गरेको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तसम्ममा लागुऔषध दुर्व्यसन तथा ओसारपसार सम्बन्धी १६० वटा मुद्दा दर्ता भएका छन् । जसमा सबैभन्दा बढी सुर्खेतमा १ सय ५, सबैभन्दा कम कालीकोट र मुगुमा २/२ वटा मुद्दा दर्ता भएका छन् । यस्तै जुम्लामा २१, डोल्पामा ४, रुकुमपश्चिममा ९, दैलेखमा ९, जाजरकोटमा ३ र सल्यानमा ५ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशका १० वटै जिल्लामा लागुऔषधसम्बन्धी कसुरमा १ सय ६ वटा मुद्दाहरू दर्ता भएका थिए । तर चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा भन्दा ५४ बढी मुद्दा दर्ता भए । जसमा सबैभन्दा बढी सुर्खेतमा ७४ वटा र सबैभन्दा कम हुम्ला र डोल्पामा १/१ मुद्दा दर्ता भएका छन् । यस्तै जुम्लामा १६, मुगुमा २, दैलेखमा ४, कालीकोट ३ र सल्यानमा ५ वटा मुद्दा दर्ता भए । उक्त कसुरमा ८ जना महिलासहित जम्मा १ सय ६८ जना पक्राउ परेका थिए ।

गत आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेशका १० वटै जिल्लाहरूमा लागुऔषधसम्बन्धी कसुरमा १ सय १४ वटा मुद्दाहरू दर्ता भए । जसमा सबैभन्दा बढी सुर्खेतमा ८८, सबैभन्दा कम जाजरकोट र सल्यानमा २/२ मुद्दा दर्ता भए । अन्य जिल्लाहरू मुगुमा ३, दैलेखमा ४, जुम्लामा १२ र कालीकोटमा ३ वटा मुद्दाहरू दर्ता भएका थिए । जुन कसुरमा १६ जना महिलासहित जम्मा २ सय १५ जना व्यक्तिहरू पक्राउ परेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीका १० वटै जिल्लाहरूमा ९५ मुद्दा दर्ता भएका थिए । जसमा संलग्न १ सय २९ जना व्यक्तिहरू पक्राउ परेका थिए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी माधवप्रसाद श्रेष्ठले पछिल्लो समय कर्णालीमा लागुऔषध दुर्व्यसनका विरुद्ध प्रहरीले व्यापक अप्रेसन सञ्चालन गरिरहेको बताए । उनले भने, ‘कर्णाली प्रदेशलाई शान्त र सुरक्षित बनाउन मुख्य बाधकहरूमध्ये एक लागुऔषध हो । जसका कारण महिला तथा बालबालिका माथि हुने हिंसा र दुव्र्यवहार बढाइरहेको छ । घरेलु अपराध र हिंसाका घटनाहरूको ९० प्रतिशत कारण लागुऔषध देखिएको छ । जसका विरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको छ ।’

प्रदेश प्रहरी प्रमुख श्रेष्ठका अनुसार प्रहरीले पछिल्लो समय लागुऔषधमा उत्पादनदेखि बजारसम्ममा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिरहेको छ । ‘विगतमा भरियाहरू मात्र पक्राउ पर्ने गरेको गुनासोहरू सुनिथ्यो’, डीआईजी श्रेष्ठले भने, ‘तर अहिले हामीले लागुऔषध दुर्व्यसनमा पक्राउ परेका व्यक्तिहरूमा प्रि–बार्गेनिङ सिस्टमअनुसार उत्पादनदेखि बजारसम्म संलग्न हुने सबैलाई कानुनी दायरामा ल्याउने गरेका छौं ।’

कुनै पनि अपराधका घटनामा संलग्न भएर पक्राउ परेका व्यक्तिले अपराध अनुसन्धानमा सहयोग गरेमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । त्यसैको उपयोग गरेर लागुऔषध उत्पादनदेखि बजारीकरणमा संलग्नहरूलाई पहिचान गर्ने र कानुनी दायरामा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । ‘यसबाहेक कर्णालीमा हामी सवारी दुर्घटना, आत्महत्याविरुद्ध सचेतनाका साथै सम्भावित विपद्मा हुने क्षति न्यूनीकरणका लागि कार्ययोजना बनाएर अगाडि बढिरहेका छौं’, डीआईजी श्रेष्ठले भने ।

दुर्व्यसनको सिकार युवापुस्ता बढी 

प्रहरीका अनुसार कर्णालीमा लागुऔषध दुर्व्यसनमा बढीजसो युवा पुस्ता संलग्न हुने गरेको पाइएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले भने, ‘लागुऔषध दुर्व्यसनमा संलग्नहरू पक्राउ पर्नेमा बढीजसो युवा पुस्ता छन् । १६ देखि ३९ वर्षसमूहका व्यक्तिहरू बढी पक्राउ परेका छन् । यसमा महिला र पुरुष दुवै संलग्न छन् । महिलालाई लागुऔषधको सञ्चय गर्ने र ओसारपसार गर्ने दुवै कार्यमा प्रयोग गरिएको पाइएको छ । तर त्यो संख्या न्यून छ । प्रायः पुरुष नै लागुऔषध उत्पादन, प्रयोग र बजारीकरणमा बढी सक्रिय छन् ।’

सुर्खेतमा लामो समयदेखि लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा मानसिक स्वास्थ्य र हिंसाका सबालमा काम गर्दै आएकी सामाजिक अभियन्ता पवित्रा शाहीले भनिन्, ‘लागुऔषध प्रयोगका कारण धेरै युवाको भविष्य डामाडोल भइरहेको छ । पढ्ने, रोजगारी गर्ने, कमाउने र उत्पादनशील काममा लाग्ने उमेरमा लागुऔषधको दलदलमा फसेका युवाकै कारण समाजमा विभिन्न खालका अपराधजन्य घटनाहरू बढिरहेका छन् । यसको न्यूनीकरण र रोकथामका लागि सबै सरोकारवालाहरूले एकसाथ अभियान चलाउनु आवश्यक छ ।’ उनका अनुसार कर्णालीमा बढ्दो अवस्थामा रहेको लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि विभिन्न नाकामा कडाइ गर्नुका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । ‘प्रदेश भित्रिने नाकामा कडाइ गर्नुपर्छ । कडाइमात्र गरेर भएन, सचेतनाका कार्यक्रम आम नागरिकसम्म पुर्‍याउन सके मात्रै लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्न सकिन्छ’, उनले भनिन् ।

उनका अनुसार सुर्खेतमा हुने गरेका अधिकांश हिंसा र दुव्र्यवहारका घटनाहरू लागुऔषधकै कारण भएको देखिएको छ । त्यसमा पनि अधिकांश युवा पिँढी छन् । कतिपय युवालाई परिवारजनले पनि सम्हाल्न नसकेर सम्बन्धित संस्थामा जाने गरेका छन् । त्यसैको अर्को परिणाम सम्बन्ध विच्छेदका घटना पनि बढिरहेका उनले बताइन् । ‘अर्को कुरा पछिल्लो समय लागुऔषधसम्मको पहुँच पनि बढेकाले अभिभावकको नियन्त्रणभन्दा बाहिर रहेका बालबालिका यसबाट प्रभावित भइरहेका छन् । अब हामीले स्थानीय तहमार्फत लागुऔषध दुर्व्यसनका सवालमा ठोष कार्यक्रमका साथ अभियान सञ्चालन गर्नुपर्ने अवस्था छ’, उनले भनिन् । एक जिल्लाबाट अर्को जिल्ला बसाइँसराइ गरेर पढिरहेका बालबालिका पनि यस्तो दुर्व्यसनीमा फस्ने गरेको उनले जनाइन् ।

लागुऔषध प्रयोग गर्ने युवाहरूकै कारण समाजमा हत्या, लुटपाट, चोरी, डकैतीजस्ता सामाजिक अपराधका घटना बढ्दै गएका छन् । लुटपाट, चोरी, डकैती, हिंसालगायतका घटनामध्ये प्रायःमा लागुपदार्थ प्रयोगकर्ता नै संलग्न रहने गरेको प्रहरीको भनाइ छ । नसाका लागि आवश्यक पैसाको जोहो गर्न उनीहरू जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने गरेको प्रहरीले जनाएको छ । अभिभावकले आफ्ना छोराछोरीप्रति निगरानी नराख्नाले लहैलहैमा लागेर युवायुवती लागुऔषध दुर्व्यसनमा फस्ने गरेका छन् ।

लागुऔषध दुर्व्यसन तथा सामाजिक अपराधीविरुद्ध अभियान चलाइरहेकी अभियन्ता सुजिता रोकायाले लागुऔषधको बढ्दो प्रयोग समाज र सबैका लागि ठूलो चुनौती र चिन्ताको विषय बनिसकेको बताइन् । यसलाई नियन्त्रण गर्न राज्यका निकायका साथै नागरिक तहबाट पनि सबैको सक्रियताको खाँचो रहेको उनको भनाइ छ । उनका अनुसार विद्यालय र परिवारमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने र अभिभावकले पनि आफ्ना छोराछोरीको उठबस र संगतलाई ध्यान दिनुपर्ने अवस्था छ ।

किन फस्छन् लागुऔषधमा युवायुवती ?

कर्णालीका युवापुस्ता लागुऔषध दुव्यर्सनमा फस्नुको पहिलो कारण उसको परिवार हो । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. सुशील समदर्शीले भने, ‘परिवारको कुनै सदस्यले लागुऔषधको प्रयोग गर्दा बालबालिकाले पनि त्यसको सिको गर्छन् । त्यही कारणले गर्दा उनीहरूले लागुऔषधको प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रदेश अस्पतालमा आउने अधिकांश मानसिक बिरामीहरूमा लागुऔषध दुर्व्यसन पनि एक मुख्य कारणका रूपमा देखिएको छ ।’ उनका अनुसार बालबालिकाप्रति परिवारको राम्रो व्यवहार नहुँदा, उनीहरूसँग पर्याप्त समय नबिताउँदा, जति पैसा माग्यो सो पैसा दिने गर्दा, मागेको पैसा के कुरामा खर्च गर्छ भन्ने कुराको खोजीनीति नगर्दा, आफ्ना सन्तानको धेरै विश्वास गर्दा, सन्तानले गरेको नराम्रो कार्य ढाकछोप गर्दा किशोरकिशोरी कुलतमा फस्ने गरेका छन् । यसप्रति परिवार बढी जिम्मेबार हुनुपर्छ । विद्यालयले पनि यस सबालमा आफ्ना विद्यार्थीप्रति ध्यान दिन नसक्दा यस्ता घटना बढिरहेका छन् ।

डा.समदर्शीका अनुसार कतिपय समुदायमा परम्परादेखि चल्दै आएको सांस्कृतिक तथा सामाजिक कारणले पनि अहिलेको पुस्ता लागुऔषधको कुलतमा फस्ने गरेका छन् । ‘हाम्रो कतिपय समुदायमा जाँडरक्सीको सेवन गर्ने परम्परा नै छ । सो परम्पराले पनि उनीहरूका घरका सन्तान लागुऔषधको कुलतमा फसेको हाम्रो अगाडि ज्वलन्त उदाहरण छन् । यससँगै अहिलेको पुस्ताले साथीहरूको दबाबलाई थेग्न नसकेका कारणले पनि लागुऔषधको कुलतमा फसेका छन् । गलत साथीको संगतले गर्दा कतिपय लागुऔषधको दुव्यर्सनमा फसेका छन् । साथीले सुरूमा केही पनि हुँदैन भनेर चाख्न लगाउने र पछि त्यसले गर्दा बानी पर्ने र यो लतलाई छोड्न गाह्रो हुने धेरै उदाहरण छन् । ‘हरेक अभिभावकले आफ्ना सन्तानलाई कुलतबाट जोगाउन साथीसंगतिको संगत बेला बेला के कस्तो छ भनेर बिचार गर्नुपर्छ’, उनले भने ।

यस्तै कतिपय मानिस घरेलु हिंसा तथा दुव्र्यवहारको कारण पनि कुलतमा फसेका छन् । सन्तानले आफूले भनेको जस्तो काम नगरेको खण्डमा उनीहरूलाई मानसिक तनाव दिने, गालीगलौज गर्ने, छोराछोरीलाई चाहेको तथा आवश्यक पर्ने कुरा पनि उपलब्ध नगराउने, कुटपिट गर्ने गरेको खण्डमा उनीहरू घरमा नआउने र साथीसंगीसँग लागेर लागुऔषधको कुलतमा फस्ने गरेको विभिन्न अनुसन्धानले देखाउँछ । लागुऔषधको कुलतमा अहिलेको पुस्ता फस्नुको कारण बेरोजगारी पनि हो । देशमा दिनप्रतिदिन बेरोजगारीको समस्या बढ्दो छ । स्नातक वा स्नातकोत्तर अध्ययन गरेका युवा पुस्ताहरू बेरोजगार छन् । युवा पुस्तालाई व्यस्त राख्ने कुनै अवसर छैन । त्यसैले गर्दा उनीहरू लागुऔषधको कुलतमा फसिराखेका छन् ।

आफ्ना सन्ततिहरूलाई कुलतबाट जोगाउन घर परिवारले बच्चाको नजिक मदिरा तथा सुर्तीजन्य पर्दाथको सेवन नगर्ने, सकेसम्म यस्ता चिजवस्तुहरू घरबाट टाढा राख्नुपर्ने डा. समदर्शीको सुझाव छ । यस्तै स्थानीय सरकारले यसमा बजेट छुट्ट्याउने, स्थानीय सरकार, स्थानीय प्रहरी, स्थानीय क्लब, आमा समूह तथा विभिन्न संस्था मिलेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, लागुऔषधको उत्पादन हुने ठाउँमा गई फँडानी गर्ने र यस्ता वस्तु उत्पादनमा रोक लगाउने कार्य गर्नु आवश्यक छ । ‘लागुऔषध कारोबारीलाई कानुनको कठघरामा उभ्याउने, लागुपदार्थको दुर्व्यसनीलाई अपराधीको रूपमा नहेरी यो एक प्रकारको रोग हो भनेर उपचार गरे अवश्य निको हुन्छ भन्ने चेतना व्यापक रूपमा जनमानसमा फैलाउनु आवश्यक छ’, डा.समदर्शीले भने ।

लागुऔषध दुर्व्यसन नियन्त्रणको प्रयास

प्रदेश प्रहरी कार्यालयका अनुसार लागुऔषधको कारोबारी नियन्त्रणका लागि प्रहरीले विशेष टोली खटाएको छ । जसको प्रतिफल दिनानुदिन उनीहरू पक्राउ पर्ने क्रम पनि बढेको छ । तर, प्रहरीको अभियानलाई सफल पार्न अथवा सहयोग गर्न र नागरिकस्तरमा जनचेतना जोगाउन लाल्टिन अभियान पनि कर्णालीमा विगत केही वर्ष यता जारी नै छ । तत्कालीन प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले सुरुवात गरेका लागुऔषधविरुद्ध लाल्टिन अभियान अहिले पनि जारी छ ।

यस्तै, प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत कर्णाली प्रदेशका १० वटै जिल्लाहरूमा सचेतनाको अभियान चलाइरहेको छ । यसबाट लागुऔषध दुर्व्यसनबाट हुने असर र जोगिने उपायका विषयमा समुदायस्तरसम्म जानकारी गराउने गरिएको छ । नेपाल प्रहरीले मुलुकभरिका ७ सय ५३ स्थानीय सरकारसँग सम्झौता गरेर एकै दिन देशैभरि सञ्चालन गरेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ कर्णालीमा प्रभावकारी बन्दै गएको छ । उक्त कार्यक्रम २०७५ कात्तिक ११ मा गरिएको थियो । यसैको प्रतिफल स्वरूप पछिल्लो समय लागुऔषधसम्बन्धी अपराधजन्य घटनाहरूमा धेरै पक्राउ परिरहेको अवस्था छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख माधव श्रेष्ठले समुदाय प्रहरी साझेदारीअन्र्तगत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिकसमेत अग्रसर हुन थालेको बताए । उनले भने, ‘यस कार्यक्रम बालविवाह, बहुविवाह, घरेलु हिंसा, लागुऔषध दुर्व्यसन, दाइजो प्रथा, छाउपडी प्रथा, जातीय विभेद, आत्महत्याजस्ता सामाजिक विकृति र बिसंगतिहरू न्यूनीकरणका लागि कर्णालीमा निकै प्रभावकारी बनेको छ । कर्णालीका दसवटै जिल्लाहरूमा प्रहरीले स्थानीय स्तरसम्मै यो कार्यक्रममार्फत सचेतना जोगाउने काम निरन्तर गर्दै आएको छ ।’

उनका अनुसार प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा स्थानीय नागरिकसँग प्रहरीको सम्बन्ध राम्रो भएको छ । समाजमा प्रहरीप्रतिको जनविश्वास बढ्दै गएको छ । ‘हरप्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन निकै उपयोगी बनेको छ । यसले समाजलाई अपराधमुक्त बनाउन सहयोग पुगेको छ । लुकेर हुने अपराधलाई उजागर गरी कानुनी दायरामा ल्याउन पनि सहयोग पुगेको श्रेष्ठले बताए । अन्नपूर्णपोष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार