काठमाडौंः अमेरिका सरकारले पछिल्लो समय अध्यागमन नीतिमा कडाइ गरेसँगै थप १९ जना नेपाली नागरिक डिपोर्ट भएर नेपाल फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार २५ जेठमा ३७ जना नेपाली डिपोर्ट भई फर्किएयता हालसम्म विभिन्न नियमित उडानमार्फत थप १९ जना नेपाल फर्किएका हुन्।
विभागका अनुसार हाल एक–दुई जना नेपाली डिपोर्ट भई दैनिकजसो फर्किरहे पनि यकिन संख्या हाल १९ पुगेको छ। अमेरिका पुगेका नेपालीमध्ये अधिकांश तल्लो बाटो (third country route) हुँदै अवैध रूपमा प्रवेश गर्न खोज्नेहरू रहेका छन्।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि लागू गरिएको कडा अध्यागमन नीतिका कारण सामान्य कानुनी समस्या, आव्रजन उल्लंघन वा अनुमति नपाई बसोबास गर्ने नेपालीहरूसमेत डिपोर्ट हुने सूचीमा परेको विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार ट्रम्प प्रशासन सुरु भएयता अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्किने नेपालीहरूको संख्या १९७ पुगेको छ। अमेरिका प्रवेश गर्न गैरकानुनी बाटो अपनाउने नेपालीको संख्या बढ्दो रहेको र त्यहाँको कडा नीति र निगरानीका कारण धेरै नेपाली जोखिमपूर्ण अवस्थामा परेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया