काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच काठमाण्डौमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटमा दुई देशबीचको द्विपक्षीय सहकार्य, छात्रवृत्ति विस्तार, तथा भूकम्पबाट क्षति पुगेका विद्यालयको पुनःनिर्माण लगायतका विषयमा विशेष छलफल भएको थियो।
भेटका क्रममा मन्त्री पन्तले नेपालको शान्ति, लोकतन्त्र र समग्र विकासमा अमेरिकाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र व्यावहारिक बनाउने आवश्यकता औंल्याए। उनले अमेरिकी शिक्षा प्रणालीप्रति नेपाली विद्यार्थीको आकर्षण बढ्दो रहेको उल्लेख गर्दै छात्रवृत्ति विस्तार गर्न सके नेपाली मानव संसाधन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मन्त्री पन्तले ‘शान्ति कोर स्वयंसेवक’ कार्यक्रमले विद्यालय शिक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै, सन् २०१५ र २०२२ का भूकम्प तथा पछिल्ला विपद्बाट क्षति पुगेका विद्यालयहरूको पुनःनिर्माणमा निरन्तर सहयोग आवश्यक रहेको धारणा राखे।
त्यस अवसरमा अमेरिकी राजदूत थम्पसनले नेपाल सरकारद्वारा शिक्षा विधेयकका लागि गरिएको प्रयासको सराहना गर्दै नेपालस्थित अमेरिकी शैक्षिक संस्था ‘लिंकन स्कुल’ का शिक्षक तथा कर्मचारीको भिसा प्रक्रियामा देखिएको समस्या समाधानका लागि शिक्षा मन्त्रालयको सहयोग अपेक्षित रहेको बताए।
उनले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या उल्लेखनीय रहेको उल्लेख गर्दै, यो तथ्य दुई देशबीचको सबल कूटनीतिक सम्बन्धको संकेत भएको बताए। साथै, उच्च शिक्षामा अमेरिकी विश्वविद्यालयसँग सहकार्यका सम्भावनाहरूबारे छलफल गर्न प्रस्ताव पनि राखे।
मन्त्री पन्तले उठाइएका सबै विषयप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै समन्वय र पहल गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया