श्रावण २, २०८२ शुक्रबार July 18, 2025

वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो

सार्वजनिक खर्चको तुलनामा राजस्व परिचालन पर्याप्त नभएकाले स्रोत परिचालनमा दबाब पर्न गई सार्वजनिक ऋणको आकार बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बजेटको आकार वृद्धि हुँदै गए पनि अपेक्षित रूपमा राजस्व वृद्धि नहुँदा सरकारलाई सार्वजनिक ऋणको बोझ बर्सेनि थपिँदै गएको छ। पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८१/८२) मा सरकारको सार्वजनिक ऋण दायित्व दुई खर्ब ३१ अर्ब ५४ करोड रुपैयाँले बढेको छ। विकास निर्माणका लागि ऋण लिनुपर्ने बाध्यता भएपछि त्यस्तो अवस्था आएको हो।

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म कुल सार्वजनिक ऋण दायित्व २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा आइपुग्दा २६ खर्ब ६५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। चालु खर्च धान्न कठिन हुँदा सरकारले विकास खर्चका लागि आन्तरिक र बाह्य ऋण लिने गरेको छ। सरकारले राजस्व संकलन वृद्धि गर्न नसक्दा वैदेशिक र आन्तरिक ऋण लिने गरी बजेट बनाउँदै आएको छ।

सरकारले आन्तरिकतर्फ १२ खर्ब ६६ अर्ब ९८ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ९८ अर्ब ६५ करोड रुपैयाँ तिर्न बाँकी रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलले बताए।

पोखरेलका अनुसार एक वर्षको अवधिमा दुई खर्ब ८१ अर्ब ६३ करोड रुपैयाँ सावाँ र ७० अर्ब ११ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको छ। राजस्व कम उठेपछि सरकारले आन्तरिक तथा बाह्य ऋण लिएर विकास निर्माणसहित अन्य खर्च गर्दै आएको छ। राजस्वबाट सरकारको खर्च भरथेग नभएपछि ऋणको भार बढ्दै गएको हो।

पछिल्ला वर्षमा सार्वजनिक ऋणको भार निकै बढेको छ। आर्थिक वर्ष २०७५/७६ सम्म आन्तरिक तथा बाह्य ऋण १० खर्ब ४८ अर्ब रुपैयाँ मात्रै रहेकोमा आव २०८१/८२ को अन्त्यसम्म आइपुग्दा कुल ऋण २६ खर्ब ६५ अर्ब बढेको छ। यसले पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य ऋण लिने प्रवृत्ति ह्वात्तै बढेको देखिन्छ।

आव २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ सार्वजनिक ऋण थियो। त्यो बेला एकै वर्षमा तीन खर्बभन्दा धेरै सार्वजनिक ऋण बढेको थियो। सार्वजनिक ऋण आव २०७७/७८ मा १७ खर्ब ३७ अर्ब आठ करोड रुपैयाँ पुगेको थियो। आव २०७८/७९ मा झन्डै साढे दुई खर्ब रुपैयाँ बढी सार्वजनिक ऋण बढ्यो। आव २०७९/८० मा आइपुग्दा सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ पुग्यो।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। त्यसमा १३ खर्ब १५ अर्ब राजस्वबाट उठाउने योजना बनाएको छ। बाँकी रकम वैदेशिक अनुदान, विदेशी ऋण र आन्तरिक ऋणबाट जुटाउने लक्ष्य राखेको छ। अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८२/८३ मा करिब ६ खर्ब रुपैयाँ सार्वजनिक ऋण लिने गरी बजेट बनाएका छन्।

वैदेशिक ऋण दुई खर्ब ३३ अर्ब र आन्तरिक ऋण तीन खर्ब ६२ अर्ब रुपैयाँ लिने गरी बजेट प्रस्तुत गरेका छन्। यसरी हेर्दा आगामी आवमा कुल पाँच खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिने सरकारको योजना देखिन्छ। सार्वजनिक खर्चको तुलनामा राजस्व परिचालन पर्याप्त नभएकाले स्रोत परिचालनमा दबाब पर्न गई सार्वजनिक ऋणको आकार बढ्दै गएको अर्थ मन्त्रालयले जनाएको छ। बाह्य स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाई ऋणमाथिको निर्भरता कम गर्दै जानुपर्ने चुनौती छ।

एक खर्ब २० अर्ब राजस्व बढ्यो

सरकारले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन वृद्धि गरे पनि लक्ष्यअनुसार भने राजस्व संकलन गर्न सकेको छैन। एक वर्षमा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँबराबर राजस्व संकलन भएको छ। आव २०८१/८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। लक्ष्यभन्दा दुई खर्ब ४१ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ। यो आर्थिक वर्ष २०८०/८१ को भन्दा एक खर्ब २० अर्ब रुपैयाँ बढी हो, जुन ११.३३ प्रतिशत वृद्धि हो।

आर्थिक वर्ष २०८०/८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो। विपद्, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदाहुँदै अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व बढेको अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले बताए। ‘चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्छौं,’ खत्रीले भने। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन
२०८२ श्रावण २, शुक्रबार
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार