श्रावण ५, २०८२ सोमबार July 21, 2025

इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग

स्वायत्तता पुनः लागू गर्न माग गर्दै इञ्जिनियरिङ क्याम्पसमा १३ दिनदेखि पठनपाठन ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर, श्रावण ०५ गते । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान (IOE) का पाँच आङ्सिक क्याम्पसमा पठनपाठन, प्रयोगशाला तथा शैक्षिक गतिविधिहरू ठप्प भएको आज १३ दिन पुगेको छ। विकेन्द्रीकरण तथा स्वायत्तता पुनः लागू गर्नुपर्ने माग राख्दै विद्यार्थी र शिक्षकहरू संयुक्तरूपमा आन्दोलनमा छन्।

विसं २०८० साउन १ गतेको त्रिवि सिनेट बैठकले इञ्जिनियरिङ अध्ययन संस्थानमा लागू रहेको विकेन्द्रीकरण प्रणाली स्थगन गर्ने निर्णय गरेको थियो। सोही निर्णयको विरोधमा पुलचोक, थापाथली, पश्चिमाञ्चल, पूर्वाञ्चल र चितवन इञ्जिनियरिङ क्याम्पसका विद्यार्थी र शिक्षकहरू आन्दोलित भएका हुन्।

प्राध्यापक सङ्घ पुलचोक क्याम्पसका कोषाध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठले विकेन्द्रीकरण स्थगनले शिक्षाको गुणस्तर, संस्थाको गरिमा र प्रशासनिक कार्यसम्पादनमा गम्भीर असर परेको दाबी गर्नुभयो। “हाम्रो माग धेरै ठूलो छैन। २०५५ सालदेखि लागू भएको स्वायत्तता पुनः लागू गरिए पठनपाठन तुरुन्त सुरू हुन्छ,” श्रेष्ठले भन्नुभयो।

स्ववियु पुलचोक क्याम्पसका कोषाध्यक्ष अल्वर्ट ढकालले विकेन्द्रीकरण र स्वायत्तता नहुनु परीक्षा प्रणाली, नतिजा प्रकाशन र सम्पूर्ण शैक्षिक चक्रमा असर पर्ने भन्दै आन्दोलन अनिवार्य भएको बताउनुभयो। उहाँले भन्नुभयो, “स्वायत्तता खोसिएपछि इञ्जिनियरिङ क्याम्पसहरू अन्य साधारण आङ्सिक क्याम्पससरह कमजोर बन्ने खतरा छ।”

सिनेट बैठकको निर्णयमा एउटा बुँदामा आयोग गठन गरी स्वायत्तता पुनः लागू गर्न सकिने उल्लेख भए पनि अहिलेसम्म कुनै समिति गठन नभएको आन्दोलनकारीहरूको आरोप छ। पुलचोक क्याम्पसका सहप्राध्यापक अजयकुमार झाले भन्नुभयो, “दुई वर्षसम्म आयोग नै गठन नगरी क्याम्पसलाई प्रशासनिक रूपमा अस्तव्यस्त बनाइएको छ। अब आन्दोलनबाटै समाधान खोजिन्छ।”

शिक्षक तथा विद्यार्थीहरूले असार १९ गतेदेखि ध्यानाकर्षण कार्यक्रम, प्लेकार्ड प्रदर्शन र साङ्केतिक विरोध गरेका थिए। माग सुनुवाइ नभएपछि असार २५ गतेदेखि सम्पूर्ण कक्षा, प्रयोगशाला र परीक्षा बहिष्कार गर्दै आन्दोलनलाई कडा बनाइएको छ।

इञ्जिनियरिङ अध्ययन संस्थानका क्याम्पसहरूमा निरन्तर आन्दोलन चलिरहेकाले देशभर करिब १० हजारभन्दा बढी इञ्जिनियरिङ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया