श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

स्वास्थ्य बिमा प्रणालीमा आमूल सुधार गर्दै अनलाइनबाट बिमाको नवीकरण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्तमान सरकार गठनको एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सीमित स्रोतसाधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । उनले आधारभूत अस्पताल सञ्चालन, डेङ्गी सङ्क्रमण नियन्त्रण, एचपिभी खोप अभियान, विपद् व्यवस्थापन, आपत्कालीन तयारी, कर्मचारी समायोजनलगायत मुद्दामा तीन तहबीच सहकार्य गर्दै समस्या समाधानमा स्पष्टता ल्याइएको बताए ।

मन्त्री पौडेलले मन्त्रालय मातहतको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमार्फत दुई हजार १०० नयाँ जनशक्ति थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको र एक दर्जनभन्दा बढी नयाँ विधेयकहरू तयारीको अन्तिम चरणमा रहेको बताए ।

उनले भने,“स्वास्थ्य बिमा प्रणालीमा आमूल सुधार गर्दै अनलाइनबाट बिमाको नवीकरण हुने, दीर्घरोगमा पुनः रिफरको झन्झट हटाउने र बिमा अवधि घटाएर एक महिना बनाउने व्यवस्था मिलाइएको छ । क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरीजस्ता आठ प्रकारका जटिल रोगका लागि रु दुई लाखसम्मको सेवा बिमाअन्तर्गत उपलब्ध गराउने व्यवस्था पनि लागू भइसकेको छ ।”

मन्त्री पौडेलका अनुसार पूर्वाधार विकासमा स्वास्थ्य मन्त्रालयले हालसम्म ११३ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिसकेको र ५५ वटा अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा रहेका छन् । यस्तै, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न सङ्घीय अस्पतालहरूमा दुई सिफ्ट बहिरङ्ग (ओपिडी) सेवा सुरु गरिएको छ । सरकारी अस्पतालहरूमा पक्षघात, सिकलसेल एनिमिया, थालसेमिया, हिमोफिलियाजस्ता रोगको औषधि र उपचार सेवा निःशुल्क गरिएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले जनसङ्ख्यालाई सन्तुलित, व्यवस्थित र समावेशी बनाउने लक्ष्यसहित ‘राष्ट्रिय जनसङ्ख्या नीति २०८२’पारित गरिएको बताए । “आगामी वर्षसम्ममा सुधार अभियानलाई पूर्णता दिँदै नेपाललाई गुणस्तरीय, सुलभ र दिगो स्वास्थ्य सेवा प्रदान गर्ने देश बनाउने प्रतिबद्धता गरेर लागिरहेका छौँ । हामीले थालनी गरेका पहलहरू स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारको आधार बन्नेछन्”, उनले भने । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया