काठमाण्डौं, साउन १० गते । सुनसरी जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ ।
इनरुवासहित धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगन्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशु चौपायामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छभने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ ।
लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशु चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । सबैभन्दा बढी वराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ । हालसम्म ६४ हजार ४४१ वटा पशु चौपायालाई खोप लगाएको प्रमुख मेहताले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया