श्रावण १५, २०८२ बिहिबार July 31, 2025

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्णखोपयुक्त बनाएर सङ्क्रामक रोग निमूल पार्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दमौली (तनहुँ), ११ साउनः जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई पूर्णखोप लगाइएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकाका दुई लाख ९० हजार ६८५ पशुमा पूर्णखोप लगाएको हो ।
सङ्क्रामक रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्णखोपयुक्त बनाएर सङ्क्रामक रोग निमूल पार्ने लक्ष्य राखेको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयातनिर्यात हुने भएकाले पूर्णखोप सुनिश्चित अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
प्रमुख अधिकारीका अनुसार खोप कार्यक्रमका लागि ९३ जना खोपकर्ता नियुक्त गरिएको थियो । दश स्थानीय तहका एक हजार ११३ टोल, ८५ वटा वडा, ४६ हजार ७१ घरधुरीमा पुगेर दुई लाख ९० हजार ६८५ पशुमा खोप लगाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार छ हजार ६२४ कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप पनि लगाइएको छ ।
अधिकारीले व्यास नगरपालिकामा सबैभन्दा बढी ३६ हजार ९२९ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा १८ हजार १०७ पशुमा खोप लगाइएको जानकारी दिनुभयो । पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यमा पार्ने नकारात्मक असरबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रणमा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया