काठमाडौँ, ११ साउनः नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप चारदिने रेफ्री र प्रशिक्षक ‘सेमिनार’ आयोजना गर्ने भएको छ ।
विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमिनार गर्न लागेको हो । कार्यक्रम यही साउन १७ देखि २० गतेसम्म काठमाडौँको जडीबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिनुभयो ।
फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलका रूपमा चिनिन्छ । यस खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यसहित सेमिनार आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले बताउनुभयो ।
सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत रहनुभएकी विन्दाले यस विधाको किक बक्सिङले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्ने बताउनुभयो । मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको उहाँले बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया