श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोना नियन्त्रणमा सरकारको तयारी पर्याप्त भएनः काँग्रेस नेताहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ‌ंः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन् ।

गिरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले आज आयोजना गरेको ‘कोभिड-१९ पछिको नयाँ विश्वमा नेपालको चुनौती र अवसर’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका हुन् ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवम् काँग्रेस नेतृ सुजाता कोइरालाले कोभिड-१९ को असरसँगै अब नेपाललाई आत्मनिर्भरतर्फ लैजानुपर्ने बताइन् । उनले भनिन्, ‘नेपाल आर्थिक समृद्धिका लागि प्रशस्त सम्भावनायुक्त भएको मुलुक हो, यहाँको प्राकृतिक स्रोतलाई सही ठाउँमा प्रयोग गरेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ ।’

नेतृ कोइरालाले नेपालमै उत्पादित जडिबुटीको सहि प्रयोग गरेर आयुर्वेद औषधिको प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै कोभिड-१९ पछि मुलुक अब प्रविधिमा जानुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले पर्याप्त तयारी गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको आगामी महाधिवेशनमा त्याग, योगदान र मूल्याङ्कनका आधारमा सही नेतृत्व छनोट गर्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले पछिल्लो समय कोभिड-१९ महामारीको चरणमा मुलुक प्रवेश गरेको बताउँदै यसलाई रोक्नका लागि सिङ्गो कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले कोभिड-१९ का कारण नेपालको आर्थिक क्रियाकलापमा नराम्रो प्रभाव पारेको बताउँदै जनता कोभिड-१९ को असरबाट छटपटिएको अवस्थामा मुलुकमा भ्रष्टाचार बढेको छ, यसको नियन्त्रणका लागि कांग्रेसले आवाज उठाउनुपर्छ भने ।

कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले कोभिड-१९ लाई चुनौतीका रुपमा भन्दापनि अवसरको रुपमा लिएर अगाडि बढाउनुपर्ने बताउँदै सरकारले आगामी दिनमा स्वास्थ्यमा लगानी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले कोभिड-१९ ले नयाँ युगतर्फ विश्वलाई अगाडि बढाएको बताउँदै नेपाल पनि नयाँ युगमा प्रवेश गर्नुपर्ने र यसका लागि कृषि क्षेत्रमा विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले स्वास्थ्य र शिक्षामा देश सवल भयो भने मात्र सुखी देश हुने बताउँदै नेपालमा निःशुल्क र अनिवार्य शिक्षा तथा निःशुल्क र नियमित स्वास्थ्यबारे संविधानमा लेख्न लगाउनुपर्छ भने । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कोभिड-१९ ले नेपालको अर्थतन्त्रमा मात्र नभएर सबै क्षेत्रमा असर पारेको उल्लेख गर्दै महामारीले लोकतन्त्रलाई बलियो बनाउने सम्भावना कम हुँदै गएको बताए ।

नेविसङ्घका पूर्वअध्यक्षद्वय रञ्जित कर्ण र महेन्द्र शर्मालगायतले कोभिड-१९ का कारण झण्डै पाँच लाख नेपाली युवा बेरोजगार भएको बताउँदै उनीहरुका लागि रोजगारीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए ।

युर्निभर्सिटी अफ सेन्टल मिसोरी अमेरिकाका प्राध्यापक डा केशव भट्टराई, जिपी फाउण्डेशन अमेरिकाका सल्लाहकार डा राजन पन्तलगायतले वदलिँदो समयानुसार मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कोभिड-१९ ले पारेको प्रभाव र आगामी दिनमा चाल्नुपर्ने कदमबारे फाउण्डेशनले निरन्तर आवाज उठाउँदै आएको बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया