श्रावण १५, २०८२ बिहिबार July 31, 2025

एमसीसी पुनरावलोकन सम्पन्न, नेपाल कम्प्याक्टलाई निरन्तरता दिने अमेरिकी सिफारिस

अब पुनरावलोकनपछि यसले पूर्णरूपमा निरन्तरता पाउने स्पष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ साउन ।अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका कार्यक्रमहरू नेपालमा पुनः निरन्तर सञ्चालन हुने भएका छन्। नेपाल सरकारको अर्थ मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै परियोजना कार्यान्वयनमा रोक हटेको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार अमेरिकी पक्षबाट प्राप्त आधिकारिक सूचनामा जुलाई २४ (साउन ८ गते) मा एमसीसीले आफ्नो पुनरावलोकन प्रक्रिया सम्पन्न गर्दै नेपाल कम्प्याक्टलाई निरन्तरता दिने निर्णय लिएको उल्लेख छ। यससँगै नेपालमा विद्युत प्रसारण लाइन र सडक स्तरोन्नतिको प्रमुख लक्ष्य राखिएको परियोजना फेरि तीव्र गतिमा अघि बढ्नेछ।

विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को मिति २०८१ साल फागुन २२ गतेको पत्रअनुसार नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशअनुसार स्थगन भएकोमा, एमसीसीको २०२५ जुलाई २४ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको छ।”

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमेरिकाबाट प्राप्त पत्रमा नेपालसँगको सहकार्य सन्तोषजनक रहेको जनाउँदै परियोजनाको कार्यान्वयन पुनः सञ्चालनका लागि सकारात्मक सन्देश दिइएको छ।

एमसीसी परियोजना नेपालमा लामो समयदेखि विवादको विषय बनेको थियो। यद्यपि, संसदबाट अनुमोदन पश्चात् कार्यान्वयन सुरु भएको यो परियोजना अमेरिकामा सन् २०२५ जनवरीमा कार्यान्वयन रोकिएको सूचना आएको थियो। तर अब पुनरावलोकनपछि यसले पूर्णरूपमा निरन्तरता पाउने स्पष्ट भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया