श्रावण १५, २०८२ बिहिबार July 31, 2025

जनता समाजवादी पार्टीको केन्द्रीय आईटी सेल गठन, प्रमुखमा महेश चौरसिया चयन

३३ सदस्यीय आईटी टिम गठन गर्दै जसपाको डिजिटल अभियान तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन १२ । जनता समाजवादी पार्टी, नेपालले सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यसहित पार्टीको केन्द्रीय सूचना प्रविधि (आईटी) सेल गठन गरेको छ। सोमबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले महेश चौरसियालाई आईटी सेलको प्रमुखमा चयन गरेको छ।

पार्टीको सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको सचिवमा समेत चौरसियालाई मनोनीत गरिएको छ। बैठकमा पार्टीका सूचना तथा प्रविधि विभाग प्रमुख जितेन्द्र यादवको अध्यक्षता तथा पार्टीका महासचिव लालबाबु राउतको प्रमुख आतिथ्य रहेको थियो।

विभाग प्रमुख यादवका अनुसार आधुनिक सूचना प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै पार्टीको विचार, कार्यक्रम र सन्देशलाई प्रभावकारी रुपमा जनतामा पुर्‍याउने उद्देश्यले ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन गरिएको हो।

“सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्दै पार्टीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले दक्ष प्राविधिक, सम्पादक तथा प्रचार सामग्री निर्माणमा जानकार कार्यकर्ताहरूलाई समेटिएको टोली निर्माण गरिएको छ,” यादवले बताए।

पार्टीका अनुसार आईटी सेलमा सामाजिक सञ्जालमा सक्रिय, फोटो-भिडियो सम्पादनमा दक्ष तथा प्रविधिमा अनुभव भएका कार्यकर्ताहरूको समावेश गरिएको छ।

सूचना प्रविधि विभागका सदस्यमा प्रदीप घतान, मुसाहिद हुसेन, रसना यादव, ईमान राई, मनोज कुमार यादव, अमरेन्द्र यादव, रेणुराज सिंह, अजय वर्मा, अभरेन्द्र यादव, विनित यादव, गौतम यादव, ओम यादव (मनिष), प्रभात कुमार सिंह (पिन्टु), श्याम यादव, दिपु कापर र कमलेश यादवलाई चयन गरिएको छ।

पार्टीले सूचना र प्रविधिको भरपुर उपयोग गर्दै आगामी दिनमा आफ्नो गतिविधिलाई थप सशक्त बनाउने बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया