श्रावण १५, २०८२ बिहिबार July 31, 2025

क्याम्बोडिया र थाइल्यान्ड तत्काल प्रभावबाट बिनासर्त सङ्घर्षविराममा सहमत

शान्तिवार्ता सफल बनाएको भन्दै दुवै देशका नेताहरूले अमेरिकी राष्ट्रपति ट्रम्पप्रति कृतज्ञता व्यक्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन १२ । सीमावर्ती क्षेत्रमा भइरहेको भीषण तनाव र हिंसापछि क्याम्बोडिया र थाइल्यान्ड “तत्काल लागु हुने गरी बिनासर्त सङ्घर्षविराम” गर्न सहमत भएका छन्। मलेशियामा आयोजित शान्तिवार्तापछि दुई देशका प्रधानमन्त्रीहरूले संयुक्त रुपमा उक्त घोषणा गरेका हुन्।

मलेशियाका प्रधानमन्त्रीले यो सहमतिलाई “तनाव मत्थर पार्न तथा शान्ति र सुरक्षा पुनर्बहाली गर्न” तर्फको पहिलो महत्वपूर्ण कदमको रुपमा टिप्पणी गरेका छन्।

गत साता सीमावर्ती क्षेत्रमा क्याम्बोडियन र थाई सेनाबीच भएका झडपहरूमा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो। कयौं घाइते भएका छन् भने सयौं सर्वसाधारण विस्थापित भएका छन्। झन्डै एक शताब्दीदेखि चल्दै आएको सीमा विवादको पृष्ठभूमिमा यो हिंसात्मक झडप भएको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै देशलाई वाणिज्य वार्ताका लागि अमेरिका तयार रहेको जनाउँदै त्यसका लागि पहिले संघर्षविराम गर्नुपर्ने सन्देश दिएका थिए। ट्रम्पको उक्त सन्देशपछि दुवै पक्षबीच वार्ता सम्भव भएको बताइएको छ।

शान्तिवार्ता सफल बनाएको भन्दै दुवै देशका नेताहरूले अमेरिकी राष्ट्रपति ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेका छन्।

यो सहमतिसँगै क्षेत्रीय स्थायित्व कायम हुने आशा गरिएको छ भने सीमा विवादको समाधानका लागि थप कूटनीतिक पहल भइरहने संकेत प्राप्त भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया