काठमाडौं । अर्जेन्टिनाविरुद्ध पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै कोलम्बियाले महिला कोपा अमेरिका–२०२५ को फाइनलमा स्थान बनाएको छ ।
मंगलबार बिहान इक्वेडरमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
पेनाल्टीमा कोलम्बियाका ६ मध्ये पाँच खेलाडीले गोल गरे । अर्जेन्टिनाबाट भने ६ मध्ये चार खेलाडीमात्रै गोल गर्न सफल रहे ।
कोलम्बियाबाट क्याटालिना उस्मी, जोरीलिन काराबाली, म्यानुएला पाभी लिन्डा काइसेडो र वेन्डी बोनिलाले गोल गरे । मायरा रामिरेजको प्रहारले भने जाली चुम्न सकेन ।
यता, अर्जेन्टिनाबाट फ्लोरेन्सिया बोन्सेगुन्डो, सोफिया ब्रायुन, एल्डाना कोमेटी र किसी डेनिज नुनेजले गोल गरे । पाउलिना ग्रामाग्लिया र एलिएना स्टाबिल भने पेनाल्टीमा विफल बने ।
कोलम्बियाले अब उपाधिका निम्ति ब्राजिल र उरुग्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमले फाइनलमा स्थान बनाउन नेपाली समयअनुसार भोलि (बुधबार) बिहान ५:४५ बजे प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने अगस्ट ३ मा हुने तालिका छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया