काठमाडौं । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आज त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गर्नुभएको छ ।
तेल अविवस्थित नेपाली दूतावासका अनुसार, नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी विपिनकी आमा र बहिनीले राष्ट्रपतिलाई भेट्नभएको हो । जेरुसेलमस्थित राष्ट्रपति निवासमा भएको शिष्टाचार भेटमा उहाँहरुले विपिन निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै उहाँको तत्काल रिहाइका लागि मानवीय पहल गरिदिन अनुरोध गर्नु भएको थियो ।
सो अवसरमा राष्ट्रपति हर्जगले विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आकस्मिक आक्रमणका क्रममा अपहरणमा परेको विषय अब इजरायली पक्षका लागि पनि नौलो नभएको बताउनुभयो । विपिनलाई “इजरायलको आफ्नै नागरिकझैँ” मानिएको बताउँदै रिहाइका लागि निरन्तर प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।
साथै उहाँले नेपाल सरकार पनि सम्बन्धित अरब मुलुकहरूसँग सक्रियतापूर्वक पहल गर्न सके थप सकारात्मक परिणाम आउन सक्ने धारणा राख्नुभयो । यसै क्रममा, विपिनकी आमा र बहिनीले इजरायली संसद ९केनेसट०का अध्यक्ष आमिर ओहानासँग पनि भेट गर्नुभएको छ ।
भेटका क्रममा उहाँहरुले विपिनको रिहाइका लागि पहल गरिदिनआग्रह गर्नुभएको छ । अध्यक्ष ओहानाले समेत विपिनसहित अन्य सबै बन्धकहरूको खोजी कार्य जारी रहेको उल्लेख गर्दै, नेपाल–इजरायलबीचको मित्रवत सम्बन्ध यस मुद्दामा अझ सुदृढ बनेको बताउनुभयो । उहाँले हालै जेनेभामा नेपालका समकक्षीसँग भएको भेटमा पनि विपिनको विषयमा छलफल भएको स्मरण गर्दै दुवै सरकार पक्षबाट प्रयास भइरहेको जानकारी दिनुभयो ।
नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा विपिनको रिहाइका लागि इजरायली सरकार निरन्तर सक्रिय रहेको र नेपाल सरकारको तर्फबाट समेत उच्च तहमा पहल भइरहेको जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया