काठमाडाैं। तिहारको मुख्य दिन अर्थात् भाइटीकाका अवसरमा सार्वजनिक यातायातका साधनहरू न्यून रूपमा सञ्चालन हुने भएपछि सर्वसाधारणको आवागमनलाई सहज बनाउन सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
चाडपर्वका बेला सवारीसाधनको अभावका कारण यात्रुहरूले भोग्नुपर्ने सास्ती र असुविधालाई मध्यनजर गर्दै यो सेवा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा ल्याइएको हो।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन गरिएका यी बसहरूले विभिन्न रुट भएर यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाएका छन्। प्रधान कार्यालयबाट छुटेको पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुहरूलाई सेवा प्रदान गरिरहेको छ।
त्यस्तै, प्रधान कार्यालयबाटै सञ्चालन भएको अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क क्षेत्रका यात्रुहरूलाई निःशुल्क सेवा दिइरहेको छ।
सैबीच, स्वयम्भूस्थित प्रधान कार्यालयबाट भक्तपुरतर्फ सञ्चालन गरिएको बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्मको परिक्रमा गरी यात्रुलाई यातायात सुविधा उपलब्ध गराएको छ। चाडपर्वका समयमा उत्पन्न हुन सक्ने यातायातको असहजतालाई चिर्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको यो कदमले सर्वसाधारणको यात्रालाई निकै सहज बनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया