कार्तिक २५, २०८३ बुधबार November 11, 2026

जलवायु सङ्कट समाधानमा क्षेत्रीय सहकार्य अपरिहार्य छ: मन्त्री शाही

हिमाली भूगोलमा खोला सुक्नु, जडीबुटी लोप हुनु, चरन सङ्कटमा पर्नु र रारा तालजस्ता प्राकृतिक सम्पदामाथि जलवायु परिवर्तनको असर परेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कट, जैविक विविधताको ह्रास र वायु प्रदूषणजस्ता चुनौती सामना गर्न क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

हिन्दूकुश–हिमालय सांसदहरूको आजदेखि यहाँ सुरु भएको बैठकको उद्घाटन समारोहमा मन्त्री शाहीले उक्त बैठक साझा पर्वतीय क्षेत्र र त्यससँग जोडिएका दुई अर्ब जनताको भविष्यबारे छलफल, सङ्कल्प र साझेदारी प्रकट गर्ने अवसर भएको उल्लेख गर्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “संसदीय परम्परामा नीति निर्माण गर्ने सार्वभौम थलो संसद्का सदस्य तथा विज्ञहरूको सहभागिताले सफल नीतिहरू निर्माण र कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ ।” मुगुबाट निर्वाचित जनप्रतिनिधि र वन मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उहाँले हिमाली भूगोलमा खोला सुक्नु, जडीबुटी लोप हुनु, चरन सङ्कटमा पर्नु र रारा तालजस्ता प्राकृतिक सम्पदामाथि जलवायु परिवर्तनको असर परेको उदाहरण दिनुभयो ।

हालै रसुवामा गएको बाढी–पहिरोले ठुलो जनधनको क्षति हुनु तथा तराई मधेसमा लामो समयसम्म वर्षा नहुँदा खानेपानी र रोपाइँ प्रभावित भएको उदाहरण प्रस्तुत गर्दै मन्त्री शाहीले जलवायु सङ्कट नेपालका लागि दैनिक यथार्थ बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले कार्बन उत्सर्जन नगण्य गरे पनि हामी जलवायु अन्यायको सिकार भएका छौँ ।” नेपालले वन क्षेत्र ४६ प्रतिशतमा पुर्‍याएको, सामुदायिक वन व्यवस्थापनमा विश्वकै उदाहरण प्रस्तुत गरेको तथा जलवायु अनुकूलन र न्यूनीकरणका लागि विद्युतीय सवारीको प्रवर्द्धन, नवीकरणीय ऊर्जा उत्पादन, पूर्व सूचना प्रणाली र युरो–६ मापदण्ड लागू गर्ने पहल गरेको उहाँले जानकारी दिनुभयो ।

तेस्रो राष्ट्रिय योगदानमार्फत आगामी दशकका जलवायु न्यूनीकरण, अनुकूलन र क्षति–नोक्सानी व्यवस्थापनका लक्ष्य तय गरिएको उल्लेख गर्दै मन्त्री शाहीले पेरिस सम्झौताको १।५ डिग्री सेल्सियस लक्ष्य कायम राख्न, जलवायु वित्तमा समान पहुँच सुनिश्चित गर्न र क्षति–नोक्सानी सम्बोधनमा ठोस कदम चाल्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहकार्य आवश्यक भएको औँल्याउनुभयो ।

सांसदहरूको भूमिकाबारे उहाँले भन्नुभयो, “संसद्मार्फत जलवायु–मैत्री नीति निर्माण, कानुनी संरचना सुदृढीकरण र सरकारका कार्यक्रमको अनुगमनमा सदस्यहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ ।”

कार्यक्रमको आयोजना गर्न पहल लिएको सङ्घीय संसद्अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिप्रति आभार व्यक्त गर्दै मन्त्री शाहीले सम्मेलनबाट प्राप्त निष्कर्षलाई वातावरण मन्त्रालयले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हिन्दूकुश हिमालय सांसदहरूको सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको हो । सम्मेलनमा हिन्दूकुश–हिमालय क्षेत्रका विभिन्न मुलुकका सांसदहरू, सरकारका उच्चपदस्थ प्रतिनिधिहरू, जलवायु क्षेत्र विज्ञलगायत सहभागी हुनुहुन्छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार