असार २८, २०८२ शनिबार July 12, 2025

कोरोना सङ्क्रमणबाट सिरहामा थप एक पूरुषको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना सङ्क्रमणबाट सिरहामा आज बिहान थप एक जनाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसियुमा उपचाररत उहाँको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उहाँको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिए थियो । उपचारकै क्रममा उहाँको प्रतिष्ठानमा मृत्यु भएको प्रमुख यादवले बताउनुभयो । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सिरहामा सात पुगेको छ ।

निषेधाज्ञा १२ दिन थप

सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रशासनले भदौ एक गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइ गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा यसअघि बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको समय दिइएकाले त्यसलाई नै निरन्तरता दिएको प्रजिअ कँडेलले जानकारी दिनुभयो । निषेधाज्ञा अवधिमा सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न पूर्ण रुपमा बन्देज गरिएको छ । यस्तै आआफ्नो धार्मिक पर्व घरभित्रै गर्न भनिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया