काठमाडौं : नयाँ पुस्ता भनेर चिनिने ‘जेनजी’ (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) युवाहरूले सोमबारदेखि राजधानी काठमाडौंमा सडक आन्दोलन थालेका छन्। माइतीघर मण्डलामा बिहानै स्वतःस्फूर्त भेला भएका उनीहरूले करिब ११ बजेतिर बानेश्वरतर्फ शान्तिपूर्ण मार्च सुरु गरेका हुन्।
आन्दोलनको मुख्य एजेन्डा सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र मुलुकभर फैलिएको बढ्दो भ्रष्टाचार हो। काठमाडौंसँगै पोखरा, दाङसहित देशका अन्य सहरहरूमा पनि जेनजी पुस्ताले आजैदेखि प्रदर्शन सुरु गरेका छन्।
प्रदर्शनकारीहरूले ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। कलेज–स्कुलका पोशाकमै आएका विद्यार्थीदेखि विभिन्न पेशा–व्यवसायमा संलग्न युवासम्मको सहभागिता उल्लेख्य देखिएको थियो।
प्रदर्शनमा सहभागीहरूले सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, तोडफोड वा आगजनी नगर्ने र सभ्य तरिकाले असन्तोष प्रकट गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। यसले आन्दोलनलाई फरक पहिचान दिलाएको उनीहरूको दाबी छ।
जेनजी आन्दोलनलाई काठमाडौं महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न दलका जनप्रतिनिधि, कलाकार र स्वतन्त्र युवाहरूले समर्थन जनाएका छन्। तर, राजनीतिक दलसँग आबद्ध भ्रातृ संस्थालाई प्रदर्शनमा सहभागी हुन रोक लगाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया