काठमाण्डौं, २४ भदौ । नेपाली सेनाले देशको विद्यमान परिस्थिति थप जटिल नबनाउन सबैलाई संयमित रहन विशेष अनुरोध गरेको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबै नेपालीको दायित्व भएको उल्लेख गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आह्वान गरेको हो।
‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
सेनाले जेनजी आन्दोलनका क्रममा हुनपुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि गरेको छ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्ने दायित्वमा नेपाली सेना सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्दै सेनाले विशेषगरी युवाहरुलाई संयमित रहन आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया