असार २८, २०८२ शनिबार July 12, 2025

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भरतपुर-कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ ।

देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो ।

क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना सङ्क्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गरेको खण्डमा सो बिरामीबाट अन्य बिरामी र कर्मचारीलाई सर्ने र अवस्था भयावह हुनसक्ने बताउनुभयो ।

कोरोनाको उपचार दुई हप्तामा निको हुनसक्ने अवस्थामा निको भइसकेपछि मात्र क्यान्सरको उपचार शुरु गर्दा फरक नपर्ने गौतमले जानकारी दिनुभयो । “क्यान्सरका बिरामीलाई कोरोना सङ्क्रमितसँग उपचार गर्दा मृत्युदरमा २५ देखि ३५ प्रतिशतसम्म बढ्ने खतरा हुन्छ, त्यसकारण पनि क्यान्सर उपचारपूर्व कोरोना अनिवार्य परीक्षण गराउनुपर्छ”, उहाँले भन्नुभयो ।

कोरोना प्रमाणित भएका बिरामीलाई कोरोना निको भइसकेपछि मात्रै उपचार गरिने गौतमले बताउनुभयो । अस्पतालले कोरोनाको सङ्क्रमणबाट जोगाउन एक बिरामी एक कुरुवाको नियम अनिवार्य गरेको छ । अस्पतालका आकस्मिक र बहिरङ्ग सेवा नियमित पूर्ववतरूपमा सञ्चालन भइरहेको निर्देशक गौतमले जानकारी दिनुभयो ।

उहाँले पिसीआर परीक्षण ल्याब केही दिनभित्र सञ्चालनमा ल्याइने तयारी भइरहेको बताउनुभयो । क्यान्सर अस्पतालका मात्रै ४२ स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये सात जना निको भइसकेका छन् । सामान्य अवस्थामा दैनिक ७०० देखि ८०० बिरामीले उपचार गर्ने क्यान्सर अस्पतालमा अहिले एक चौथाइ बिरामी मात्र उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया