कार्तिक २५, २०८३ बुधबार November 11, 2026

राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा. रामवरण यादवको आह्वान

आन्दोलन गर्ने पुस्ता तथा सबैलाई वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।

संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा पूर्वराष्ट्रपति डा. यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । संविधान दिवसको अवसरमा राससँग कुराकानी गर्दै उहाँले सबै नेपाली मिल्नुपर्ने र गल्ती गर्नेलाई सजाय हुनुपर्नेमा जोड दिँदै अहिले आन्दोलन गर्ने पुस्ता तथा सबैलाई वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

पूर्व राष्ट्रपति डा. यादवसँगको कुराकानीको पूर्ण विवरण यस प्रकार छः

“आज संविधान दिवस । हामी सबै नेपालीहरूका लागि आजको दिन ऐतिहासिक दिन हो । यो संविधान, हामीले दुई–दुईपटक भएको संविधानसभाको निर्वाचनबाट ल्यायौँ । यो संविधानको पृष्ठभूमिबारे मैले सधैँ भन्दै आएको छु, यो नेपाली जनताको ८०÷९० वर्षको आन्दोलन र सङ्घर्षको उपलब्धि हो ।

यो संविधान संस्थागत रुपमा विभिन्न राजनीतिक पार्टीहरूले २००७, २०४६ साल र २०६२÷६३ सालमा गरेका आन्दोलनको योगदानको प्रतिफल हो । त्योभन्दा पहिलेदेखि नागरिक स्वतन्त्रता र सर्वोच्चताका लागि नेपाली जनताले एक शताब्दी नै लड्यो । त्यसपछि यो संविधान पाएका हौँ ।

यो संविधान धेरै कष्ट, बलिदान र ठूलो सङ्घर्षले ल्याएका हौँ । नेपालको सबै शक्तिले यसलाई स्वीकार गर्दै चुनावी प्रक्रियामा भाग लिँदै आएको छ । यो संविधानलाई लागू गर्ने क्रममा केही त्रुटिहरू पनि भएका छन् । त्यसलाई समयक्रममा संशोधन गरेर लैजानुपर्छ । वास्तवमा राजनीतिक दलहरू संविधान र लोकतन्त्रका खम्बा हुन् ।

अहिले नयाँ पुस्ताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त देशको आकाङ्क्षासहित जुन आन्दोलन गर्नुभयो, त्यसले सुन्दर र स्वास्थ्य नेपाल बनाउने, रोजगार, शिक्षा र स्वास्थ्यलगायत सबै राम्रो होस् भन्ने देखिन्छ । उहाँहरूको आन्दोलन सही थियो । तर तत्कालीन सरकार र सुरक्षा प्रशासनले त्यसलाई ‘कमान्ड’ गर्न सकेन ।

युवाहरूले शहादत दिए, प्रदर्शनमा नरसंहार भयो । त्यसको जति आलोचना गरे पनि कमै हुन्छ । आन्दोलनको दोस्रो दिन विध्वंसकारी एजेन्टहरू पसे । विध्वंसकारी गतिविधिले राष्ट्रिय सम्पत्तिदेखि लोकतन्त्रका तीनै अङ्ग कार्यपालिका, न्यायपालिका र विधायिकादेखि राष्ट्रपतिको कार्यालयमाथि पनि आक्रमण भयो । देशको सार्वजनिक सम्पत्तिलाई ध्वस्त पारेर व्यावसायिक क्षेत्रका संस्थानमाथि पनि आक्रमण भयो । यस्तो काम अराजक तत्वले मात्र गर्न सक्छ । राष्ट्रको हित सोच्ने नेपाल आमाका सन्तानले यस्तो जघन्य अपराध गर्न सक्दैन । बदमासी गर्नेलाई कानुनले सजाय दिनुपर्छ । तर यसका नाममा राष्ट्रिय एकता खलबल हुनु हुँदैन । हामी सबै मिलेर अगाडि बढौँ ।

यस आन्दोलनका क्रममा भएका जघन्य अपराधहरूको न्यायिक जाँचबुझ गरेर कानुनसम्मत कारबाही हुनुपर्छ । जहाँसम्म अब कसरी अघि बढ्ने भन्ने कुरा छ, स्वच्छ छवि भएका पूर्वप्रधानन्यायाधीश ९न्यायमूर्ति० सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले निकास दिनुभएको छ । सोही अनुसार हामीले यही संविधानलाई आधार मानेर आगामी दिनमा राजनीतिक दलहरूले र नयाँ पुस्ताले आफ्नो दल बनाउन पाउँछ । त्यसका लागि सबैले जनताबाट ‘फ्रेस म्यान्डेट’ लिएर आउन पाउँछ ।

‘फ्रेस म्यान्डेट’ लिएर आएर यही सदनबाट संविधानमा कहाँ कहाँ संशोधन गर्नुपर्ने हो, समयसापेक्ष रुपमा संशोधन गरेर अघि बढेर यो संविधानलाई बचाउनुपर्छ । वास्तवमा यो संविधान लोकतान्त्रिक र गणतान्त्रिक छ । सङ्घीयता आफैँमा समावेशी छ, यो धर्मनिरपेक्षतासहितको छ । यसलाई कसरी हामीले समयसापेक्ष  राष्ट्रको एकतालार्ई मजबुद गर्दै र देशलाई सबै नेपालीको भावनाबमोजिम संविधानसभाबाट ६०१ प्रतिनिधिले  भौगोलिक, सांस्कृतिक र सामाजिक विविधतासहितको संविधान ल्याएका हुन् । यही संविधानमार्फत हामीले अबका दिनमा बाटो कोर्नुपर्छ ।

अब चुनावभन्दा दायाँबायाँ जानु हुँदैन । लोकतन्त्रमा जनताको अधिकार जनतामा छ । जनता यो देशको मालिक हो । संविधानले सार्वभौमसत्ता, राजकीयसत्ता र शासन सत्ता जनतामा निहित राखेको छ । यसै मार्फत भविष्यको बाटो कोरेर जाऔँ भन्ने देशवासीमा नम्र अनुरोध गर्दछु ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार