काठमाण्डौं, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावका कारण रोकिएका मुद्दाहरूलाई अब अघि बढाइने प्रतिबद्धता जनाएका छन्। शुक्रबार महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालय निरीक्षणका क्रममा उनले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धान फाइलहरू तत्काल खोलिने बताए।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सीआईबी कार्यालयको अवलोकन गर्दै मन्त्री अर्यालले अपराध अनुसन्धानमा पारदर्शिता र तीव्रता आवश्यक रहेको औँल्याए। उनले सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई निर्देशन दिँदै भने, “राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए, जे कुरा बिथोलिएका थिए, अब त्यस्तो हुँदैन। यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन, र शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन गराउन पनि सकिँदैन।”
मन्त्री अर्यालले शान्ति सुरक्षा र सुशासन कायम गर्न राजनीतिक प्रभावमा रोकिएका सबै फाइल खुलाउने र कुनै पनि प्रभावमा अनुसन्धान नरोकिने स्पष्ट सन्देश दिए। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई समेत सम्बोधन गर्दै उनले अनुसन्धानलाई निष्पक्षरूपमा अघि बढाउन आग्रह गरे।
सीआईबीको कार्यक्षेत्रबारे जानकारी लिएपछि उनले भने, “सुशासन दिन नसकेकै कारण यसअघिका सरकार र जनप्रतिनिधिहरूको भूमिका बीचैमा भंग भएको थियो। अब यस्तो दोहोरिँदैन।”
हालै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका तत्कालीन एसएसपी र अहिलेका सीआईबी प्रमुख डा. मनोज केसी अघिल्लो दिनमात्रै नयाँ जिम्मेवारीमा हाजिर भएका हुन्। अघिल्लो सरकारले थन्क्याएको उनको क्षमता यस सरकारले सीआईबीको जिम्मेवारीमार्फत प्रयोग गर्न लागेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया