काठमाडौँ । जेन जेड मूभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई राजीनामा दिन आग्रह गर्दै सोमबार एक दबाब पत्र सार्वजनिक गरेको छ। उक्त पत्र आयोगका प्रमुखलाई सम्बोधन गरी पठाइएको हो।
सङ्गठनका अनुसार, विक्रम संवत् २०८२ भाद्र २३ गतेबाट सुरु भएको जेनजेड आन्दोलनका मुख्य मागहरूमा भ्रष्टाचार र दण्डहीनताको अन्त्यसहित अख्तियारको निष्पक्ष भूमिकाको सुनिश्चितता रहेको छ। तर, हाल आयोगमा नियुक्त पदाधिकारीहरू स्वतन्त्र र निष्पक्ष नभएको आरोप लगाइएको छ।
दबाब पत्रमा भनिएको छ, “प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसदीय सुनुवाइ बिना अध्यादेशमार्फत गरेको हुँदा त्यसको वैधानिकता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ।”
सङ्गठनले प्रमुख आयुक्त राईमाथि “राजनीतिक रूपमा पक्षपाती व्यवहार गरेको” आरोप लगाउँदै वाइडबडी विमान खरिद प्रकरणलगायतका मुद्दामा निष्क्रियता देखाएको दाबी गरेको छ।
पत्रमा थप उल्लेख छ, “विशेष अदालतले समेत अख्तियारको कार्यशैलीमाथि प्रश्न उठाइसकेको छ। यस्तो अवस्थामा तपाईँको नेतृत्वमा निष्पक्ष अनुसन्धान र कारबाही हुने विश्वसनीयता छैन।”
उक्त पत्रको बोधार्थ प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, कानुन मन्त्री तथा अख्तियारका अन्य आयुक्तहरूलाई पनि पठाइएको छ। साथै, सङ्गठनले प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गरिएको जनादेश सम्बन्धी सम्झौताको दोस्रो माग-“संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको राजनीतिकरण (दलीयकरण) र राजनीतिक नियुक्तिको अन्त्य” लाई पुनः स्मरण गराएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया