काठमाडौँ, असोज २६ । गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको पुष्टि भएको छ।
पहिले सीएनएनले विपिनसहित इजरायली नागरिक तामिर निम्रोदीको अवस्थाबारे अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो। तर पछिल्लो विवरणअनुसार, टाइम्स अफ इजरायल र एपीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको नयाँ सूचीमा विपिनको नाम पनि जीवितकै रूपमा समावेश गरिएको छ।
गाजामा शुक्रबारदेखि सुरु भएको युद्धविरामले सन् २०२३ को अक्टोबर ७ देखि चल्दै आएको दुई वर्ष लामो र विनाशकारी युद्ध अन्त्य हुने आशा जगाएको छ।
वि.सं. २०८० असोज २३ (अक्टोबर ७, २०२३) मा गाजापट्टीमा भएको हमासको आक्रमणका क्रममा विपिन जोशीसहित १७ जना नेपाली विद्यार्थीमाथि आक्रमण भएको थियो। उक्त घटनामा १० जना नेपालीको ज्यान गएको थियो भने विपिनलाई हमास समूहले बन्धक बनाएर लगेको बताइन्छ।
उक्त घटनापछि उनको अवस्था लामो समयसम्म अज्ञात रहँदै आएको थियो। यद्यपि, बुधबार राति विपिनको पुरानो भिडियो सार्वजनिक भएपछि उनी जीवित रहेको तथ्य थप प्रष्ट भएको हो।
नेपाल सरकारले यसबारे औपचारिक प्रतिक्रिया नदिए पनि, विदेशी सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीले विपिन जोशीको जीवित अवस्थाप्रति नयाँ आशा जगाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया