काठमाडौँ, असोज २९ गते । काठमाडौं जिल्ला प्रशासन कार्यालयले संघ, मठ, मन्दिर लगायतका संस्थाको नाममा रहेको जग्गा बिक्री, वितरण वा हक हस्तान्तरण नगर्न चेतावनी दिएको छ।
गृह मन्त्रालय (स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा) बाट प्राप्त पत्रका आधारमा प्रशासनले यस्तो सूचना जारी गरेको हो। सो पत्रमा नेपाल सरकार, राज्यसँग सम्बन्धित संघ, मठ, मन्दिर आदिको नाममा रहेको जग्गा र सम्पत्तिको बिक्री–वितरणमा रोक लगाइएको उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भक्तराज पौडेलले जारी गरेको सूचनामा रोक लगाइएका संस्थाहरूले जग्गा बिक्री गर्न खोजेको गुनासो प्राप्त भएकाले ध्यानाकर्षण गराइएको बताइएको छ।
प्रशासनले स्थानीय मालपोत कार्यालयहरूलाई पनि यस्ता जग्गा खरिद–बिक्रीका प्रयासमा संलग्न व्यक्तिहरूलाई तुरुन्त रोक्न निर्देशन दिएको छ। रोक आदेश विपरीत जग्गा कारोबार भए कानुनी कारबाही हुने प्रशासनले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया