 
						दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योगहरू बन्द हुन पुगेका, सयौँ श्रमिकहरू रोजगारीविहीन बनेका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको प्रदेश सरकारको बुझाइ छ ।
मुख्यमन्त्री आचार्यले बुधवार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सङ्घीय सरकारले अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबिच संवाद र सहकार्यका माध्यमबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
उहाँले उद्योग व्यवसायमा विश्वास पुनः स्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभएको छ ।
विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवर्द्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया