 
						काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। उनले उक्त आन्दोलनको उद्देश्य व्यवस्था परिवर्तन रहेको बताए।
बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आन्दोलन अहिंसात्मक हुने स्पष्ट पारे। उनका अनुसार यो आन्दोलन बन्दुक, बारुद वा आगजनीका माध्यमबाट नभई जनचेतनाका बलमा सञ्चालन हुनेछ। उनले भने, “हामी सिंहदरबार जलाउने होइन, देश र नागरिक बचाउने आन्दोलनमा निस्कँदैछौं।”
प्रसाईंका अनुसार यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७७ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ। उनले मङ्सिर ७ गतेको प्रतीकात्मक महत्त्वबारे बताउँदै भने, “त्यो दिन दिल्लीमा भएको १२ बुँदे सम्झौताका कारण राजसंस्था र हिन्दु अधिराज्य अन्त्य भयो, त्यसपछि देश विदेशी प्रभावमा गयो।”
आन्दोलनअघि नागरिकलाई आवश्यक खाद्य तथा इन्धन वस्तु घरमा सुरक्षित राख्न आग्रह गर्दै उनले मानव अधिकार आयोगलाई आन्दोलनको अग्रिम जानकारी पनि गराएको बताए। उनका अनुसार आन्दोलनको क्रममा हुने सम्भावित तोडफोड वा हिंसात्मक क्रियाकलापप्रति महाअभियान जिम्मेवार नहुनेछ।
प्रसाईंले सरकारबाट वार्ताको प्रस्ताव आएको तर आफू भाग्ने अवस्थामा नरहेको बताए। उनले मङ्सिर ७ गतेदेखि हुने आन्दोलनलाई सफल बनाउन सबै नागरिक, पत्रकार, मानवअधिकारकर्मी, निजामती कर्मचारी र सुरक्षाकर्मीलाई साथ दिन आग्रह गरे।
उनले छिट्टै पत्रकार सम्मेलन गरी आन्दोलनका थप विवरण सार्वजनिक गर्ने तयारी रहेको पनि जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया