कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

‘समय नमिलेका कारण’ किमसँग भेट सम्भव भएन-ट्रम्प

समयले साथ नदिँदा’ दुवै नेताको भेटको तालिका मिल्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ग्योङ्ग्जु (दक्षिण कोरिया), कात्तिक १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट सम्भव नभएको बताउनुभएको छ ।

उहाँका अनुसार, ‘समयले साथ नदिँदा’ दुवै नेताको भेटको तालिका मिल्न सकेन । ट्रम्पले यसअघि आफ्नो एसिया भ्रमणकै क्रममा किमलाई ‘भेट्न चाहने’ इच्छा व्यक्त गर्नु भएको थियो । यो ह्वाइट हाउसमा आफ्नो अघिल्लो कार्यकालपछि हुने सम्भावित पहिलो भेट हुने थियो । यद्यपि उत्तर कोरियाले सो निमन्त्रणालाई सार्वजनिक रूपमा पुष्टि गरेको छैन ।

दक्षिण कोरियामा ट्रम्पको आगमन हुनुअघि नै प्योङयाङले पश्चिमी तटबाट क्रुज मिसाइल परीक्षण गरेको घोषणा गरेको थियो । उत्तर कोरियाले यसलाई आफ्ना ‘शत्रुलाई चेतावनी दिने सन्देश’ का रूपमा प्रस्तुत गरेको थियो । “म किम जोङ उनलाई राम्ररी चिन्छु हामीले केवल समय मिलाउन सकेनौँ”, ट्रम्पले सञ्चारकर्मीसँग भन्नुभयो । उहाँले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँगको भेटमा कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्ने लक्ष्य राखिएको पनि बताउनुभयो ।

राष्ट्रपति लीले ट्रम्पको पहलको प्रशंसा गर्दै भन्नुभयो, “किम जोङ उनलाई पठाइएको निमन्त्रणाले कोरियाली प्रायद्वीपमा न्यानो र शान्तिको वातावरण सिर्जना गरेको छ ।” दक्षिण कोरिया अझै प्राविधिक रूपमा उत्तर कोरियासँग युद्धको अवस्थामै रहेको छ । ट्रम्पले यसअघि नै ‘निकट भविष्यमा’ किमसँग भेट्ने अपेक्षा व्यक्त गर्नु भएको थियो । उहाँले एयर फोर्स वनमा सञ्चारकर्मीसँग भन्नुभएको थियो, “कुनै समय, हामी उत्तर कोरियासँग संलग्न हुने छौँ । मलाई लाग्छ, उनीहरू पनि चाहन्छन्, म पनि चाहन्छु ।”

स्मरणीय छ, ट्रम्प र किमबिच अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा तीन पटक उच्चस्तरीय शिखर बैठक भएका थिए । सन् २०१९ मा दुई देशबिचको सीमारेखा डिमिलिट्राइज्ड जोन (डिएमजेड) स्थित पान्मुन्जोममा भएको अन्तिम भेट सर्वाधिक ऐतिहासिक मानिन्छ । त्यो भेटअघि ट्रम्पले ट्विटरमार्फत अचानक निमन्त्रणाको घोषणा गर्नु भएको थियो । त्यसपछि दुवै नेताले उत्तर र दक्षिणलाई विभाजन गर्ने कन्क्रिट स्ल्याबमाथि हात मिलाउनुभएको थियो ।

सो क्रममा ट्रम्प केही कदम प्योङयाङतर्फ अघि बढ्दै उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नुभएको थियो । तर उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमको कति भाग त्याग्ने र त्यसको सट्टामा पाउने राहतका विषयमा सहमति हुन नसकेपछि ती वार्ता अन्ततः असफल भए ।

त्यसपछि प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति सम्पन्न राष्ट्र’ घोषणा गरेको थियो । ट्रम्प र किमबिचको पुनः सम्भावित भेटबारे कूटनीतिक वृत्तमा चासो बढिरहेको भए पनि हालको राजनीतिक र सुरक्षागत परिस्थिति अझै अनुकुल नभएको विश्लेषकहरूले जनाएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार