किमाथाङ्का (सङ्खुवासभा), १३ कात्तिकः पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा लाग्ने हरिबोधनी एकादशी मेलाको तयारी पूरा भएको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित अरुण किनारामा ऐतिहासिक तथा धार्मिकस्थल मनकामनाधाम यसवर्ष भव्यरूपमा शतवार्षिकी एकादशी मेला शुक्रबार राति ठूलो मेला लाग्ने  भएको छ ।  विसं १९८२ बाट सुरु भई निरन्तर परम्परागतरूपमा मनाउँदै आएको मनकामना धामको एकादशी मेला यसपाली गौरवपूर्ण १००औंँ वर्षमा प्रवेश गरेको छ ।
मनकामना परिसरमा हरेक वर्ष लाग्ने हरिबोधनी एकादशी अघिल्लो दिन राति लाग्ने मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ । परिवार तथा आफन्तको मृत्यु भएकाहरुले मृतकको सम्झनामा हरेक वर्षको हरिबोधिनी एकादशीको अघिल्लो राति यस मन्दिरमा रातभरी जाग्राम बसी बत्ती बाल्ने प्रचलन रहेको छ ।
यसरी बत्ती बाल्दा मृत्तात्माले शान्ति पाउने विश्वास रहिआएको छ । मनकामना धाममा दर्शन गरेमा दुःख, कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ पुग्ने गर्दछन् । मेलाको अवधिभर धार्मिक पूजाआजा, भजनकीर्तन, दीप प्रज्वलन, सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादन तथा हस्तकला प्रदर्शनी र सामुदायिक भेटघाट कार्यक्रम सञ्चालन गरिने छ । स्थानीय पर्यटन प्रवद्र्धन, सामाजिक एकता सुदृढीकरण र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
त्यस्तैगरी ठूलो एकादशी मेलाको अवसरमा खाँदबारी नगरपालिकाले कात्तिक १४ गते एक दिन सार्वजनिक बिदा दिएको छ । ठूलो एकादशीका नामले चिनिने हरिबोधिनी एकादशीको अवसरमा पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शन तथा पूजाआजा गर्न बर्सेनि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्दछ । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँसमेत छ ।
भाकल पूरा गर्नका लागि यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ । मनकामना परिसरमा लाग्ने एकादशी मेलालाई सभ्य र व्यवस्थित बनाउन  सम्पूर्ण तयारी पूरा भएको मनकामना मेला व्यवस्थापन समितिका अध्यक्ष विजय काल्धनले जानकारी दिनुभयो । चर्चित धाम मनकामना परिसरमा हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ ।
हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान तथा झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमलगायतका जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् । रासस
						 
					
प्रतिक्रिया