कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा

राष्ट्रपति सी दक्षिण कोरियामा एपिइसी (एपेक) शिखर सम्मेलनका लागि केही दिन बस्नहुनेछ भने राष्ट्रपति ट्रम्प वासिङ्टन फर्कनुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
एयर फोर्स वन, १३ कात्तिक (रासस/एपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई ‘अत्यन्तै सफल’ भन्दै चीनमाथि लगाइएको कर घटाउने घोषणा गर्नुभएको छ ।
उहाँका अनुसार यस भेटपछि बेइजिङले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात पुनः खोल्ने र अमेरिकी सोयाबिन खरिद सुरु गर्ने सहमति जनाएको छ ।
राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भन्नुभयो, “हामीले यस वर्षको सुरुमा चीनलाई फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायनहरू बेचेकोमा सजायस्वरूप लगाइएको करलाई २० प्रतिशतबाट १० प्रतिशतमा घटाउँदैछौँ ।” यस कदमपछि चीनमाथिको कुल कर दर ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशतमा पुगेको उहाँको भनाइ छ ।
“शून्यदेखि १० को मापनमा १० सबैभन्दा राम्रो हो भने म यो बैठकलाई १२ भन्नेछु”, राष्ट्रपति ट्रम्पले हाँस्दै भन्नुभयो । उहाँले आगामी अप्रिलमा चीन भ्रमण गर्ने र राष्ट्रपति सी पनि केही समयपछि अमेरिका आउने योजना रहेको बताउनुभयो । साथै, एनभिडियाले चीनसँग उच्च प्रविधियुक्त कम्प्युटर चिप्स निर्यातबारे छलफल गर्न लागेको जानकारी पनि दिनुभयो ।
ट्रम्पले ‘धेरै चाँडै’ दुई देशबीच व्यापार सम्झौतामा हस्ताक्षर हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । “हामीबीच अहिले ठूला अवरोधहरू बाँकी छैनन्”, उहाँले भन्नुभयो ।
तर, दुई मुलुकबीचको दीर्घकालीन प्रतिस्पर्धा भने कायम नै छ । विश्वका ठूला दुई अर्थतन्त्रले उत्पादन, कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधि विकास र युक्रेनमा युद्धजस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा प्रभाव कायम राख्ने प्रयास गरिरहेका छन् ।
दक्षिण कोरियाको बुसान सहरमा करिब १०० मिनेट लामो वार्तापछि दुवै नेताले तनाव घटाउने र सहकार्य गर्ने प्रतिज्ञा व्यक्त गर्नुभयो । राष्ट्रपति सीले पनि मतभेदका बाबजुद सँगै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “हाम्रो फरक राष्ट्रिय पृष्ठभूमिका कारण कहिलेकाहीँ दृष्टिकोण फरक हुन सक्छ, तर सहकार्य अपरिहार्य छ ।”
बैठक अघि अमेरिकाले चीनमाथि थप १०० प्रतिशत आयात कर लगाउने चेतावनी दिएको थियो । तर, चिनियाँ पक्षले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात नियन्त्रण शिथिल गर्ने र अमेरिकी कृषि उत्पादन खरिद बढाउने सङ्केत देखाएपछि वातावरण केही सहज बनेको थियो ।
उक्त वार्तालाई ‘जी–२ बैठक’ का रूपमा व्याख्या गर्दै राष्ट्रपति ट्रम्पले यसलाई अमेरिका र चीनको विश्व अर्थतन्त्रमा अग्रणी भूमिकाको प्रतीक भन्नुभयो । यो बैठक बुसानस्थित सैन्य परिसरमा सामान्य वातावरणमा सम्पन्न भएको थियो ।
सामान्य रूपमा बजारले सकारात्मक प्रतिक्रिया दिएको छ । अमेरिकी सेयर बजारमा पनि व्यापारिक आशा बढेको देखिएको छ । तर, विश्लेषकहरूले यो प्रगति अस्थायी हुन सक्ने चेतावनी दिएका छन् । फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजका वरिष्ठ निर्देशक क्रेग सिङ्गलटनका अनुसार दुवै देशले अहिलेको सहकार्यलाई अस्थिरता नियन्त्रण गर्ने उपकरणका रूपमा प्रयोग गरिरहेका छन्, प्रतिस्पर्धा भने कायम नै छ ।
गत वर्षदेखि ट्रम्प प्रशासनले चीनमाथि चरणबद्ध रूपमा नयाँ कर लगाउँदै आएको छ । यसको एक हिस्सा फेन्टानिलसम्बन्धी मुद्दासँग जोडिएको थियो । अक्टोबर १० मा चीनले दुर्लभ पृथ्वी निर्यातमा प्रतिबन्ध कडा पारेपछि ट्रम्पले १०० प्रतिशत आयात करको धम्की दिनुभएको थियो । तर हालको सहमतिको परिणामस्वरूप यो दर ४७ प्रतिशतमा झरेको छ, जसलाई उहाँले ‘तुरुन्तै प्रभावकारी’ हुने बताउनुभयो ।
विश्वको अधिकांश दुर्लभ पृथ्वी खनिज उत्पादन र प्रशोधनमा चीनको प्रभुत्व रहेको छ । पृथ्वी खनिज लडाकू विमान, विद्युतीय सवारी, रोबोट र उच्च प्रविधिका उपकरण निर्माणका लागि अत्यावश्यक मानिन्छ ।
अब राष्ट्रपति सी दक्षिण कोरियामा एपिइसी (एपेक) शिखर सम्मेलनका लागि केही दिन बस्नहुनेछ भने राष्ट्रपति ट्रम्प वासिङ्टन फर्कनुहुनेछ ।
पूर्व अमेरिकी अधिकारी जे ट्रुसडेलले भन्नुभयो, “राष्ट्रपति सीले चीनलाई भरपर्दो साझेदारका रूपमा स्थापित गर्न र कर नीतिबाट असन्तुष्ट मुलुकहरूसँग सम्बन्ध सुदृढ गर्न यो अवसरको उपयोग गर्न चाहनुहुन्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
२०८२ कार्तिक १४, शुक्रबार
दीपक आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ आजदेखि प्रदर्शनमा
२०८२ कार्तिक १४, शुक्रबार