 
						काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसामा विदेश यात्रा गर्न लागू गरेको ६ बुँदे मापदण्ड खारेज गरेको छ। नयाँ व्यवस्था अनुसार अब ६ महिनाभन्दा बढी अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, दुईतर्फी हवाई टिकट र स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा भए पुग्नेछ।
प्रशासन स्रोतका अनुशार अध्यागमन विभागको सिफारिसमा गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारदेखि नयाँ मापदण्ड लागू गरेका हुन्। यसअघि लागू गरिएको ६ बुँदे मापदण्डमा होटेल बुकिङ, आफन्तसँग बस्ने भए तीन पुस्ते विवरण, ५ सय डलर अनिवार्य रूपमा साथमा हुनुपर्ने लगायतका कडा प्रावधान थिए। जसका कारण अनेक कागजात जुटाउन बिचौलिया प्रयोग गर्नुपरेको गुनासोसमेत आउने गरेको थियो ।
अव्यवहारिक भन्दै विभिन्न क्षेत्रबाट आलोचना भई रहँदा नयाँ मापदण्डले भिजिट भिसामा विदेश जान चाहनेहरूलाई सहजता बनाउनुका साथै दलाल तथा बिचौलियाद्वारा हुने आर्थिक शोषण पनि रोक्नेछ।
यसअघि २०७८ सालमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसा सम्बन्धी १७ बुँदे कडा मापदण्ड जारी गरेका थिए। त्यसमा करयोग्य आम्दानी, बैंक मौज्दात, अध्ययन, अंग्रेजी ज्ञान, विदेश भ्रमण अनुभवजस्ता मापदण्डसमेत समावेश थिए। त्यसपछिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा उक्त मापदण्ड संशोधन गरी ६ बुँदे बनाइएको थियो।
अब भने ती दुवै मापदण्डका विभेदकारी प्रावधान हटाएर नयाँ खुकुला ४ बुँदे मापदण्ड लागू गरिएको छ। यसले भिजिट भिसामा विदेश जान चाहनेलाई सहज बनाउने र भिसाका आवरणमा हुने तस्करी तथा ठगी नियन्त्रणमा मद्दत गर्ने अधिकारीहरूको भनाई छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया