 
						कर्णाली, १४ कात्तिक : विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजना’ निर्माण गर्न थालिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको समन्वयमा उक्त प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो । यसका लागि सुर्खेत वीरेन्द्रनगरमा तीन दिनसम्म हुने ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजनासम्बन्धी कार्यशाला’ बिहीबारदेखि सञ्चालन भएको छ ।
कार्यशाला उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विपद्का लागि जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि जनशक्ति र स्रोत आवश्यकता औँल्याउनुभयो । कर्णालीको भूगोलअनुकूल विपद् प्रतिकार्यका लागि तत्काल खर्च गर्ने स्रोत जुटाउन कठिन हुने गरेको उहाँको भनाइ थियो ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय तालिमप्राप्त जनशक्तिहरू सङ्ख्यामा धेरै भए पनि प्रतिकार्यमा फिल्ड खटिने सङ्ख्या कम भएको टिप्पणी गर्दै मन्त्री भण्डारीले कार्यान्वयन हुने योजनाहरूको निर्माण र त्यसको रुपरेखा तयार कार्याशालाबाट सहयोग पुग्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव दिवस आचार्यले विपद् तथा प्रतिकार्यका लागि बनाइएको योजनालाई प्रदेशको मौलिकतामा अन्तिम रूप दिन विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागितामा कार्याशालाको आयोजना गरिएको बताउनुभयो । डा अमृत पोखरेलले सातै प्रदेशको आफ्नो हावापानी र माटो सुहाउँदो प्रतिकार्य योजना तयारी गरी अन्तमा राष्ट्रियस्तरको योजना निर्माण कार्यान्वयनमा लैजाने बताउनुभयो ।
कार्यशालामा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत एवं विपद् सम्पर्क व्यक्ति किरण शर्माले कर्णालीमा भूकम्प, पहिरो, आगलागी, चट्याङलगायतका २१ विशिष्टिकृत विपद् र त्यसबाट उत्पन्न हुने खतराको नियन्त्रण, रोकथाम र प्रतिकार्य कसरी गर्ने भन्ने विषय समेटिएको आफ्नो प्रस्तुति राख्नुभयो । उक्त प्रस्तुतिसँगै उहाँले विपद्जन्य घटनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने दस्तावेज तयार गरी त्यसलाई अन्तिम स्वरुप दिन छलफल गरिएको जनाउनुभयो ।
कार्याशालामा कर्णालीको विपद् जोखिम अवस्था, त्यसको न्यूनीकरण र प्रतिकार्य कसरी गर्ने भन्ने विषयमा समूह कार्य गरिएको थियो । जसमा सिङ्गो कर्णाली प्रदेशको परिचयका विषयमा डा रत्नवीर सुनार, प्रादेशिक सन्दर्भका बारेमा रितिजा रावल, संस्थागत स्वास्थ्य प्रणाली बारेमा जनस्वास्थ्य अधिकृत उमा डिसी र प्रादेशिक विपद् जोखिम विवरण डा जीवन परियारले प्रस्तुति राख्नुभयो ।
उक्त कार्यशालामा दशवटै जिल्लाका जनस्वास्थ्य तथा आयुर्वेद कार्यालयका प्रमुख, स्वास्थ्यसँग सम्बन्ध निकायका प्रमुख, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीलगायतका प्रमुख एवं प्रतिनिधिसहित सबै सरोकारवालाको सहभागिता रहेको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया