 
						काठमाण्डौं, १४ कार्तिक । सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीको हाहाकार छ । देशका ठुला अस्पतालमै विशेषज्ञ चिकित्सकको अभावका कारण सेवाग्राहीले समयमै उपचार सेवा पाउन सकिरहेका छैनन् । स्वास्थ्य जनशक्तिको अभावमा बिरामीले घण्टौँ पालो कुर्नुपर्ने बाध्यता छ । तर, कतिपय विशेषज्ञ चिकित्सक नै दरबन्दी भएको अस्पतालमा काम गर्न छाडेर पहुँचका आधारमा मन्त्रालयमा काजमा बसिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल मन्त्रालयको प्रवक्ताका रूपमा रहेका डा. प्रकाश बुढाथोकी वीर अस्पतालका चिकित्सक हुन् । दन्तरोग विशेषज्ञ बुढाथोकीको दरबन्दी वीरमै छ । तर, उनी पछिल्लो दुई वर्षयता बिरामीको उपचारमा छैनन् । त्यसअघि पनि कारागार अस्पतालका मेसुु रहेका उनी त्यसपछि पहुँचकै आधारमा मन्त्रालयको प्रवक्ता बनेका हुन् । जबकि मन्त्रालयको प्रवक्ता मन्त्रालयकै कर्मचारीबाट बन्नुपर्ने थियो । डा. बुढाथोकीले आफ्नो दरबन्दी भएको अस्पतालमा काम नगर्दा त्यहाँँ आउने बिरामीलाई भने मार परेको छ ।
वीरमा दन्त ओपिडी सेवामा दैनिक दुई सयभन्दा बढी बिरामी आउने गरे पनि चिकित्सकको संख्या कम हुँदा लामो पालोमा बस्नुपर्ने बाध्यता छ । बुढाथोकीले आफू मन्त्रालयको पुल दरबन्दीमा रहेको बताए । ‘म मन्त्रालयको पुल दरबन्दीमा छु, जता समस्या छ, त्यता मन्त्रालयले पठाउन सक्छ, मबाहेक अन्यत्र दरबन्दी भएर मन्त्रालयमा काजमा खटिएकाको संख्या २४ छ,’ उनले भने । वीरकै रेडियोग्राफर डा. सरोज शर्मा (११औँ तह) पनि मन्त्रालयमा छन् ।
एक वर्षयता काजमा मन्त्रालयमा रहेका उनी अस्पताल फर्किन चाहँदैनन् । मन्त्रालयमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको जिम्मेवारी उनलाई दिइएको छ । ‘चिकित्सकहरू त अस्पतालमा पो हुनुपर्ने हो, तर मन्त्रालयमा पहुँचको आधारमा आएर बस्दा बिरामीलाई मार परिरहेको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘महाशाखा प्रमुख हुनका लागि अस्पताल छाडेर आउनु गलत हो, कतिपय चिकित्सक मन्त्रालयमा काजमा आउने, यहाँ काम नभएपछि निजी अस्पतालमा समय खर्चिने गर्नुभएको छ ।’ पहुँचकै आधारमा दरबन्दी भएको अस्पताल छाडेर मन्त्रालय पुगेका अर्का विशेषज्ञ चिकित्सक (११औँ तह) हुन्– डा. कृष्णप्रसाद पौडेल ।
कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ पौडेल चार वर्षयता स्वास्थ्य मन्त्रालयमा छन् । मन्त्रालयमा उनी नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा छन् । यता महाशाखा प्रमुख बन्न उनले बिरामीको उपचार नै छाडेका हुन् । पहुँचका आधारमा नियम मिचेर मन्त्रालय आएका उनी मन्त्रालय नछाड्ने अडानमा छन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलकै पालामा उनीलगायतलाई दरबन्दी भएकै ठाउँमा जान भने पनि अटेरी गरेको स्रोत बताउँछ ।
लामो समयसम्म काजमा बसिरहेका उनलाई स्वास्थ्यमन्त्री पौडेलले माथिल्लो पहुँचका कारण काज फिर्ता पठाउन सकेका थिएनन् । डा. अनुप बाँस्तोला पनि ०८१ भदौदेखि स्वास्थ्य मन्त्रालयमा बसिरहेका छन् । उनी भने पहुँचका कारण मन्त्रालयमा आएका होइनन् । उनी अन्यायमा परेपछि मन्त्रालयका आएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दरबन्दी रहेका सरुवा रोग विशेषज्ञ (११औँ तह) बाँस्तोला प्रमुखको रूपमा रहन चाहन्थे । तर, आफूलाई प्रमुखको जिम्मेवारी नदिएपछि उनी मन्त्रालयमा छन् । मन्त्रालयमा उनको जिम्मेवारी भने गुनासो सुन्ने हो । उनले ०८१ मंसिरयताका गुनासा डेढ महिनाअघि तत्कालीन स्वास्थ्यमन्त्री पौडेललाई बुझाएका थिए । साथै मन्त्रालयका सरुवा रोगसँग सम्बन्धित कार्यक्रममा उनले सहयोगीको रूपमा काम गर्छन् । तर, विशेषज्ञ डा. भए पनि उनलाई प्रमुख जिम्मेवारी दिइएको छैन । आफू बस्नुपर्ने ठाउँमा पहुँचका आधारमा अन्य चिकित्सकलाई पठाइएको भन्दै डा. बाँस्तोला रुष्ट छन् ।
डा. बाँस्तोलाले अहिले आफू मन्त्रालयमा आएको गुनासो सुन्ने कक्षमा कार्यरत रहेको बताए । ‘म अहिले मन्त्रालयमा सेवाग्राहीको गुनासो सुन्ने ठाउँमा छु, १११५ मा आएका गुनासा सुन्छु, यसभन्दा अघि म स्वास्थ्य सेवा विभागमा थिएँ,’ उनले भने, ‘मेरा कथा–व्यथा धेरै छन् ।’ तर, अचेल स्वास्थ्य मन्त्रालय जलेर खरानी भएपछि गुनासो सुन्ने र समाधान गर्नसमेत कठिन भएको छ । त्यस्तै, नरदेवी अस्पतालका डा. पुष्पराज पौडेल (१०औँ तह) पनि दरबन्दीमा नबसी काजमा मन्त्रालयमै छन् । उनी पछिल्लो डेढ वर्षदेखि मन्त्रालयमा छन् । उनी आयुर्वेदतर्फ पनि नाक, कान घाँटी र आँखासम्बन्धी विशेषज्ञ हुन् । अस्पतालको प्रमुखबाहेक अन्य तहमा काम गर्न नखोज्ने उनी पनि पहुँचकै आधारमा मन्त्रालयमा आएका हुन् । स्टाफ नर्स श्रेया सुवेदीसमेत डेढ वर्षदेखि मन्त्रालयमै काजमा छिन् ।
वीरमा दरबन्दी रहे पनि उनलाई पहुँचकै आधारमा मन्त्रालयमा काज सरुवा गरिएको हो । तर, मन्त्रालयमा कुनै जिम्मेवारी भने दिइएको छैन । वीरमा नर्सिङ जनशक्ति अभाव भइरहेका वेला सुवेदी मन्त्रालयमा विनाकाम बस्दा अस्पताल आउने बिरामी भने मारमा परेका छन् । त्यस्तै, कान्ति बाल अस्पतालका खरिदार हेमराज पुनमगर र मिलन पौडेल पनि पहुँचका आधारमा एक वर्षदेखि मन्त्रालयमा छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका खरिदार राजन आचार्यसमेत एक वर्षदेखि मन्त्रालयमै छन् । मन्त्रालयमा पुनमगर, पौडेल र आचार्यलाई कुनै जिम्मेवारी भने दिइएको छैन । उनीहरू पहुँचका आधारमा मन्त्रालयमै बसिरहेका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत सिनियर अनमी (छैटौँ) विमला नापित एक वर्षयता मन्त्रालयमा काजमा छिन् । दरबन्दी प्रसूति अस्पतालमा भए पनि उनी मन्त्रालयमा आउजाउ गर्छिन् । तर, उनलाई कुनै महत्वपूर्ण जिम्मेवारी भने दिइएको छैन । त्यस्तै, सुन्धारास्थित कारागार अस्पतालमा कार्यरत सिनियर अनमी (छैटौँ) नरमाया रिजाल पनि पहुँचकै आधारमा मन्त्रालयमा छिन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत सिनियर अनमी (छैटौँ) विशाल उपाध्यायसमेत एक वर्षदेखि मन्त्रालयमै काजमा छन् ।
चापाकोट नगरपालिका स्याङ्जामा सिनियर अनमी (छैटौँ)को दरबन्दी भएकी सबिना आचार्य पनि मन्त्रालयमै काजमा छिन् । पछिल्लो डेढ वर्षदेखि उनलाई मन्त्रालयमा तानिएको मन्त्रालयको आर्थिक प्रशासन महाशाखाले जनाएको छ । चन्द्रागिरि नगरपालिकाका सिनियर अनमी (छैटौँ) गोपाल पाण्डे पनि पहुँचकै आधारमा मन्त्रालयमा कार्यरत छन् । पोखरा राष्ट्रिय विज्ञान प्रतिष्ठानमा दरबन्दी रहेकी मेडिकल अधिकृत डा. सरस्वती शर्मा मन्त्रालयमा काजमा सरुवा भएर बेकामे छिन् । त्यस्तै, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा कार्यरत वरिष्ठ अनमी पुष्पा केसी पनि पहुँचका आधारमा मन्त्रालयमा कार्यरत छिन् ।
दरबन्दी एकातिर र काज अर्कातिर हुँदा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा जनशक्तिको समस्या परेको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले विशेषज्ञ चिकित्सक मन्त्रालयमा काजमा लामो समयसम्म बस्दा दरबन्दी भएका अस्पताललाई जनशक्तिको अभाव भएको बताए । ‘कतिपय चिकित्सक दरबन्दी छाडेर काजमा बस्दा अस्पतालहरूले जनशक्ति अभावको समस्या झेलिरहेका छन्, अझ विशेषज्ञ डाक्टर काजमा बस्नु भनेको ठुलो घाटा हो,’ उनले भने, ‘अस्पतालहरूमा ११औँ तहमा दरबन्दी भएकाहरू मन्त्रालयमा १०औँ तहमा समेत बसेको अवस्था छ, विशेषज्ञ चिकित्सक बाहिर बस्दा अस्पताललाई सेवा प्रवाहमा असर पर्छ नै ।’ उनका अनुसार परिवार कल्याण महाशाखा टेकुमा चिकित्सकको अभाव छ । त्यहाँका केही कर्मचारी निलम्बन भएपछि मन्त्रालयमा भएको जनशक्ति पठाउनेबारे नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले मंगलबार मन्त्रालयका कर्मचारीसँग छलफल गरेकी छिन् । त्यस्तै, मन्त्रालयको प्रशासन महाशाखाले पनि बाहिर दरबन्दी रहेर मन्त्रालयमा कार्यरत रहेकाहरूको तथ्यांक नवनियुक्त स्वास्थ्यमन्त्री शर्मालाई दिएको छ ।
एक साताअघि मात्रै पनि यसबारेमा प्रशासन महाशाखाले बैठक गरेर दरबन्दी भएकै ठाउँमा पठाउन पत्राचार गर्ने निर्णय गरेको थियो । तर, दरबन्दी अस्पतालमा भए पनि डाक्टर र कमर्चारीले मन्त्रालय छाड्न अस्वीकार गर्दै आइरहेका छन् । वीर, कान्ति, नरदेवी आयुर्वेद, शुक्रराज ट्रपिकल तथा सरुवा रोगजस्ता ठुला अस्पतालका विशेषज्ञ चिकित्सकहरू नै मन्त्रालयका कोठामा बसेर समय बिताउँदा सेवाग्राही भने मर्कामा परेका छन् । जेन–जी आन्दोलनमा मन्त्रालयको भवन जलेपछि अहिले स्वास्थ्य अनुसन्धान परिषद् (एचएचआरसी)को साँघुरो भवनमा सरेको छ । अनावश्यक जनशक्तिले ठाउँ ओगट्दा काम गर्ने कर्मचारीलाई समेत अवरोध भएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार ११औँ तहको पद अस्पतालको निर्देशक तथा प्रमुख हुन्छ । तर, कतिपय चिकित्सक दरबन्दी भएको अस्पताल छाडेर मन्त्रालयमा काज मागेर आउने गरेका छन् ।
अधिकांश विशेषज्ञ चिकित्सक मन्त्रालयमा काजमा आउनुको मुख्य कारण पहुँच हो । त्यस्तै, स्वास्थ्य सेवा ऐन, २०५३ ले चिकित्सक वा स्वास्थ्यकर्मी एक महिनासम्म काजमा बस्न पाउने व्यवस्था गरे पनि कतिपय डाक्टर पहुँचका आधारमा तोकिएभन्दा धेरै समय मन्त्रालयमा बस्दै आएका छन् । ‘पहुँचका आधारमा कतिपय कर्मचारी र चिकित्सक मन्त्रालयमा काजमा हुनुहुन्छ, त्यसको असर बिरामीलाई परेको छ,’ वीरको दन्त सेवा विभागका एक चिकित्सकले भने, ‘अझ वीरमा ११औँ तहमा कार्यरत डा. प्रकाश बुढाथोकीलाई मन्त्रालय तान्दा दन्त सेवा प्रवाहमा असर परिरहेको छ ।’ बिरामीको सेवामा खटिनुपर्ने चिकित्सकहरू मन्त्रालयमा काजमा सरुवा भएर लामो समयसम्म बस्दा पनि मन्त्रालयले दरबन्दी भएको ठाउँमा पठाएको छैन । दरबन्दी एकातिर र काज अर्कातिर हुँदा त्यसको प्रत्यक्ष असर अस्पताललाई नै परिरहेको छ । स्वास्थ्यसचिव डा. विकास देवकोटा भने दरबन्दी भएको ठाउँमै जनशक्ति खटिनुपर्ने बताउँछन् । ‘दरबन्दी जहाँ छ, जनशक्ति त्यहीँ हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘त्यही भएर हामीले सूचना पनि जारी गरेका छौँ ।’ निवर्तमान स्वास्थ्यमन्त्री पौडेलले निर्देशन दिँदासमेत भएन काज फिर्ता देशका थुप्रै अस्पतालमा कार्यरत दरबन्दीकै जनशक्ति अन्यत्र काजमा जाँदा सेवा प्रवाहमा समस्या भएको भन्दै निवर्तनमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा गत २८ जेठमा मन्त्रालयले पत्र नै काटेको थियो ।
स्वास्थ्य सेवा विभाग, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, राष्ट्रिय क्षयरोग निवारण केन्द्र, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, प्रसूति गृह, भेरी अस्पताल, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलगायतलाई पत्र पठाएर यी कार्यालय तथा स्वास्थ्य संस्थामा दरबन्दी भएका चिकित्सक तथा जनशक्तिलाई सोही ठाउँमा फर्किन दिर्नेशन दिएको थियो । तर, हालसम्म काजमा कार्यरत कर्मचारी, चिकित्सक दरबन्दी भएको स्थानमा नफर्किएको स्वास्थ्य मन्त्रालय आर्थिक प्रशासन महाशाखाले जनाएको छ । ‘पत्र काटे पनि कसैले टेरेनन्, निवर्तमान मन्त्रीज्यूले पटक–पटक दरबन्दी भएकै ठाउँमा जाऊँ भन्दा पनि कर्मचारी र चिकित्सकले नटेरेको अवस्था छ,’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्रीले नै भनेको नमान्ने र माथिल्लो पहुँच र शक्तिको आडमा मन्त्रालयमा बस्नु लाजमर्दो विषय हो ।’
गत भदौमा तत्कालीन स्वास्थ्यमन्त्री पौडेलले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्ने क्रममा चिकित्सकहरूलाई दरबन्दी भएको ठाउँमा खटाउन कठिन भएको बताएका थिए । उनले कतिपयले चिकित्सक दरबन्दी भएको ठाउँमा नबस्ने र काठमाडौंबाहिर जान नमान्ने गरेको गुनासो गरेका थिए । दरबन्दी भएको ठाउँमा चिकित्सक र कर्मचारी नहुँदा सम्बन्धित संस्थालाई कठिन हुने कान्ति बाल अस्पतालका सूचना अधिकारी रमेशनरसिंह केसी बताउँछन् । ‘यहाँ दरबन्दी भएका चिकित्सक र कर्मचारीहरू मन्त्रालयमा हुनुहुन्छ, अनि अन्त दरबन्दी भएकाहरू कान्ति बालमा हुनुहुन्छ, नर्सिङ इन्चार्जको यहाँ दरबन्दी होइन, तर मन्त्रालयले यहीँ पठाएको छ,’ उनले भने, ‘जसको जहाँ दरबन्दी हो, त्यहीँ खटिँदा राम्रो हुने हो ।’ नयाँपत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया