 
						काठमाडौं । साउदीमा रोजगारदाताहरूलाई घरेलु कामदारबाट भर्ती, कार्य अनुमति, सेवा स्थानान्तरण र पेसा परिवर्तनको शुल्कलगायत कुनै पनि शुल्क लिन प्रतिबन्ध लगाइएको छ । नियमहरू उल्लंघन गर्ने रोजगारदातालाई अधिकतम २० हजार साउदी रियाल जरिमाना र ३ वर्ष अवधिका लागि घरेलु कामदार भर्तीमा प्रतिबन्ध लगाइने नियम ल्याएको छ ।
यी प्रावधान घरेलु कामदारको अधिकार र दायित्वहरूको गाइडमा समावेश गरिएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयद्वारा जारी गरिएको गाइडमा रोजगारदाता र कर्मचारीबीचको सम्बन्धलाई नियमन गर्ने कानुनको विस्तृत प्याकेज समावेश गरिएको जनाएको छ ।
नियमहरूमा अधिकारहरूको प्याकेज समावेश छ, जसले घरेलु कामदारलाई सम्मानजनक जीवन र स्थिर कार्य वातावरणको ग्यारेन्टी दिन्छ । यसमा ‘घरेलु कामदारबाट भर्ती, पेसा परिवर्तन, सेवाहरूको स्थानान्तरण, बसोबास अनुमति (इकामा) र कार्य अनुमतिसँग सम्बन्धित कुनै पनि शुल्क नलिनु’ भनी समावेश गरिएको छ भने घरेलु कामदारलाई रोजगारदातासँग हस्ताक्षर गरिएको एकीकृत सम्झौताअनुसार उनीहरूको ज्याला वितरण गरिनेछ ।
नियमहरूले सम्झौतामा सहमति भएको साप्ताहिक विश्राम दिन जोड दिइएको छ । कामदारले काम सम्झौता नवीकरण गर्न चाहेमा २ वर्ष निरन्तर काम पूरा गरेपछि पूरा महिनाको बिदाको अतिरिक्त, दैनिक विश्राम घण्टा कम्तीमा ८ निरन्तर घण्टाको हुने मन्त्रालयलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।
मन्त्रालयले घरेलु कामदार क्षेत्रको नियमन सबै पक्षको अधिकारको रक्षा गर्ने र न्याय तथा मानवीय मर्यादामा आधारित कार्य वातावरण सुनिश्चित गर्न जोड दिएको छ । नयाँ गाइडले घरेलु कामदार क्षेत्रमा कानुनद्वारा अनुमति दिइएका पेसाहरूको सूची निर्दिष्ट गर्दै घरेलु कामदार, निजी चालक र घरेलु नर्स, कुक, दर्जी, बटलर, सुपरिवेक्षक र घर प्रबन्धकजस्ता विशेष पेसा, साथै होमगार्ड, व्यक्तिगत सहायक, किसान, भौतिक चिकित्सक र घरमा कफी बनाउने जस्ता विशेष पेसा समावेश छन् ।
गाइडले घरेलु कामदारको कर्तव्यअन्तर्गत पर्न सक्ने कुनै पनि अन्य पेसा थप्न अनुमति दिन्छ । घरेलु कामदारको अधिकारमा रोजगारदाताको खर्चमा प्रत्येक २ वर्षमा आफ्नो देशको यात्रा टिकट प्राप्त गर्ने, लगातार ४ वर्ष पूरा गरेपछि एक महिनाको तलबबराबरको सेवा अन्त्य उपदान र स्वीकृत मेडिकल रिपोर्टका आधारमा आवश्यकताअनुसार प्रतिवर्ष ३० दिनसम्मको बिरामी बिदा समावेश गरिएको छ । यसका साथै कामदारलाई आफ्नो सबै पहिचान दिने कागजात (जस्तै– राहदानी र अकामा) रोजगारदाताद्वारा जफत नगरी राख्ने अधिकार छ ।
नियमनमा घरेलु कामदारका दायित्व समावेश छन् । जस्तै– करार सम्बन्धको उचित आचरण, परिवारभित्र स्थिर कार्य वातावरण, रोजगारदाता र उनको परिवारका सदस्यको निरीक्षणमा काम गर्ने, परिवारको सम्पत्ति र कामका उपकरणको संरक्षण र हेरचाह गर्न आवश्यक पर्ने, रोजगारदाता वा परिवारका कुनै पनि सदस्यविरुद्ध कुनै पनि मौखिक वा शारीरिक आक्रमणबाट टाढा रहने, घरेलु कुराहरू गोप्य राख्ने र कुनै पनि परिस्थितिमा अरूलाई खुलासा नगर्ने, वैध औचित्यबिना काम छोड्ने वा आफ्ना लागि वा अरूका लागि काम नगर्ने, इस्लामिक धर्म र राज्यमा लागू हुने नियमहरूको सम्मान गर्नुपर्नेछ ।
रोजगारदाताले कामदारलाई आफ्नो परिवारसँग सामान्य तरिकाले कुराकानी गर्न, आफ्नै खर्चमा बसोबास, कानुनी इजाजतपत्र जारी गर्न, नवीकरण गर्न र सम्झौतामा तोकिएअनुसार नियमित रूपमा मासिक ज्याला तिर्नुपर्ने आवश्यकता पूरा गर्न बाध्य पार्नेछ ।
कामदारलाई स्वास्थ्य सेवा प्रदान गर्ने, उनीहरूलाई दैनिक आराम घण्टा र कानुनी रूपमा तोकिएको बिदा प्रदान गर्ने, र कामदारलाई उनीहरूको स्वास्थ्यलाई खतरामा पार्ने वा उनीहरूको मानवीय मर्यादा उल्लंघन गर्ने कुनै पनि काम नदिने उल्लेख गरिएको जनाएको छ ।
अघिल्लो वर्षको तथ्यांकअनुसार साउदीमा नेपाली महिला घरेलु कामदार १ हजार १२ जना र पुरुष घरेलु कामदारको संख्या १ हजार ७ सय ९२ जना रहेका थियो भने अहिले यो संख्या बढेको पाइन्छ । राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया