काठमाण्डाैंः नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले निषेधाज्ञा बारे पुनर्विचार गर्न सरकारसँग माग गरेको छ । नाडाको सोमबार बसेको पदाधिकारी बैठकले लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाएको र बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको भन्दै राज्यले तत्काल निषेधाज्ञा बारे पुनर्विचार नगरे भदौ २५ गतेदेखि व्यवसाय सञ्चालन गर्न व्यावसायीहरुलाई आग्रह गरेको छ ।
नाडाले एक प्रेश विज्ञप्ति जारी गर्दै लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका र उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनुपर्ने दारुण अवस्था सिर्जना भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका छन् र उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनुपर्ने दारुण अवस्था सिर्जना भएको छ । अब अति भयो, समयलाई बुझौं, संसारलाई नियालौं र काम गरौं ।’
सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने नाडाको धारणा छ ।कोरोना संक्रमणका विषयमा विभिन्न मुलुकहरुले आ-आफ्नै ढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रकृयाहरुको अवलम्बन गरिरहेको नाडाले स्मरण गराएको छ ।
दक्षिण पूर्वी एसियाका केही देशहरुले लकडाउन नै नगरेको भन्दै नाडाले संक्रमण रोकथामको एक मात्र उपाय लकडाउन हो भन्ने नभएको बताएको छ । यसैबिच नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकारले निषेधाज्ञा नखोले जनताले आफैं तोड्ने बताए । उनले सरकारको नियम ६ महिनासम्म पालना गरेको र अब जनविद्रोह सुरु हुने चेतावनी दिए । उनले सरकारी कर्मचारी र राजनीतिज्ञहरुले मात्र बन्द गर्नुपर्छ भनेर आवाज उठाएको बताएका छन् ।
‘सरकारी कर्मचारीले कहिले पनि काममा जानुपर्छ भन्नु भएको छैन् । उहाँहरुले बन्द गर्नुपर्छ । कोरोना फैलिन्छ । घरमा बस्नुपर्छ, लकडाउन गर्नुपर्छ भन्नु भएको छ । किनभने उहाँहरुले घरमा बसेर तलब पाइहाल्नु भएको छ । व्यावसायी, उद्योगी बाहेक जति पनि कर्मचारी नेताले बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको आवाज सुन्छौं हामी’, उनले भने ।
उनले अहिलेको अवस्थामा जनता शोक मनाएर बस्न नसक्ने बताए । अध्यक्ष दुलालले १ सय ८० दिन लामो लकडाउन कुनै पनि देशमा नभएको भन्दै सरकार गम्भीर हुनुपर्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया