काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरणको मुद्दा चर्को बन्दैगर्दा पार्टी विभाजनको लहर चलेको छ ।
जेनजी आन्दोलनपछि मात्रै विभाजन हुने दलहरूको संख्या ५ पुगेको छ । सीके राउत नेतृत्वको जनमत पार्टी नेपाल विभाजित भएसँगै सुरु भएको पार्टी विभाजनको लहरले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल हुँदै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी विभाजन भएको छ ।
जेनजी आन्दोलनले पुराना प्रवृत्तिका दलहरूप्रति कडा प्रहार गरिरहेका बेलामा दलहरू एकीकृत हुने भन्दा विभाजित हुने प्रवृत्तिले राजनीतिमा नयाँ किसिमको ध्रुवीकरणको संकेत गरिरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
जेनजी आन्दोलनको सन्देश ग्रहण गर्दै सबैभन्दा धेरै आफ्नै एजेन्डाको उत्तराधिकारी दाबी गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत पार्टी विभाजनको त्रासले सताएको छ ।
माओवादीले निर्माण गरेको जेनजी संगठन रेड फोर्सले पार्टीभित्र विद्रोहको तयारी भएको संकेत गर्दै आन्तरिक रूपमा भौतिक कारबाहीका धम्कीसमेत दिइएको विषय माओवादी पार्टीभित्र बहसको विषय बनेको छ ।
जेनजी आन्दोलनमा संलग्नताको विषयलाई लिएर अखिल क्रान्तिकारी तथा माओवादीका विभिन्न कमिटीमा भएका नेताहरूको संलग्नता सार्वजनिक हुनु र माओवादीनिकट जेनजीको देशव्यापी संगठन निर्माण हुनुले जेनजी आन्दोलनको सन्देशले माओवादीमा सञ्चार भएको प्रमाणित छ भन्दै माओवादीलक्षित आलोचना बढिरहेको छ ।
नेकपा माओवादीलाई वामपन्थी एकताको धु्रवीकरण केन्द्र बनाउनेगरी धमाधम पार्टी एकता गर्ने चर्चा चल्दैगर्दा एकतामा आउने भनिएका पार्टीहरूमा धमाधम विभाजनको बीउ रोपिएको छ । माओवादीसँगको एकता चर्चाले नै ती पार्टीहरू विभाजित भएको टिप्पणी राजनीतिक वृत्तमा फैलिएको छ ।
एकीकृत समाजवादी विभाजित
नेकपा एकीकृत समाजवादी तेस्रो बैठकबाट नेकपा माओवादीसँग एकीकृत हुने निर्णय गरेसँगै विभाजित भएको छ । पार्टीबाट निर्वाचित भएका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको विभाजन र सनाखतसम्बन्धी प्राविधिक कामका कारण विभाजित हुनेहरूको वास्तविक आकार सार्वजनिक नभए पनि विद्यमान कमिटीका एक तिहाइ नेता एकता प्रक्रियामा नजाने भएका छन् ।
सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरूले नेकपा माओवादीसँग एकता प्रक्रियामा नजाने घोषणा गरेका छन् । शुक्रबार साँझ पार्टी बैठकको समापनमा अध्यक्ष नेपालले बहुमतको निर्णय भन्दै माओवादीसँग एकताको औपचारिक निर्णय सुनाएका थिए ।
पार्टी एकताको निर्णय हतारमा गर्नुभन्दा समीक्षा गर्दै पुनर्गठनमार्फत बृहत् वाम एकताको पक्षमा जानुपर्ने विचार राख्नेहरूलाई समेटेर नेकपा एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने पक्षमा खनाल पक्षधर नेताहरू लागेका छन् । कानुनी पक्ष तथा बृहत् परामर्शसहित पुनर्गठन वा नयाँ पार्टी निर्माणको विषयमा निर्णय लिइने एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताइन् ।
नारायणकाजी र जनार्दनले माओवादीमा तनाव
जेनजी आन्दोलनलाई एक किसिमले समर्थन गरेजस्तै देखिने सामाजिक सञ्जालको प्रभावसँगै नेकपा माओवादीमा नेतृत्व हस्तान्तरणको विषय बहसमा उठ्यो । नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले चर्काएको यो मुद्दा माओवादीका अध्यक्ष रहेका प्रचण्डकै आसपासबाट जेनजी दस्ता सार्वजनिक भएसँगै निस्तेज भएको छ । प्रचण्डलाई पद छाड्न दबाब सिर्जना गरेपछि उनले कमिटी भंग गरी आयोजक कमिटीमा रूपान्तरण गरेका छन् भने विरोधका सबै सम्भावनालाई निस्तेज बनाएका छन् ।
प्रचण्डका यी रणनीतिका बाबजुद माओवादीका श्रेष्ठ र शर्माले राजनीतिक पुरानो शैलीले नभइ भिन्न शैलीमा अगाडि बढ्ने विश्लेषण गरी नयाँ ध्रुवीकरणको सुरुवात गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेताहरूसँग संवादमा रहेका श्रेष्ठ र शर्माको विषयले प्रचण्डमा समेत तनाव सिर्जना भएको छ ।
एमाले कांग्रेस पनि दबाबमा
जेनजी आन्दोलनपछि नेकपा एमाले र नेपाली कांग्रेसमा पनि विभाजन र विद्रोहको दबाब बढेको छ । नेपाली कांग्रेसमा महाधिवेशनको विषयले दबाब बढेको छ । कांग्रेसको बैठकले ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागेको प्रस्तावलाई समेत उपेक्षा गरेपछि महामन्त्री गगनकुमार थापाले बैठक नै बहिष्कार गरेका छन् । शेरबहादुर देउवा वा देउवानिकटका पुरानै पुस्ताका नेतालाई अघि सार्ने दाउ खोजेको भन्दै गगन–विश्वप्रकाश समूहले पार्टीभित्र अलग परिस्थितिको दबाब सिर्जना गरेका छन् ।
दर्तामा पुग्नासाथ कपाने विभाजित
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टी कम्युनिस्ट पार्टी नेपाल (कपाने) पनि विभाजित भएको छ ।
शुक्रबार चिरण पुन ‘मिलन’को नेतृत्वमा पार्टी विभाजन भएको हो । पुनले आफू महासचिव रहनेगरी ७५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन् । साविकको १ सय ४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको उनले दाबी गर्दै विप्लवले आन्दोलनलाई विचार मिल्ने बाटोमा एकीकृत गर्दै लैजानुपर्नेमा अन्तै लैजान खोजेको भन्दै प्रचण्ड नेतृत्वमा समाहित हुन आफूहरूले विद्रोह गरेको बताएका छन् ।
नाउपाको विभाजित दल जाँतोमा
रेशम चौधरीको नेतृत्वमा २०७९ सालको निर्वाचनमा उदाएको नागरिक उन्मुक्ति पार्टी अनेकांै किचलो खेपेर एउटै रहेकामा बिहीबारबाट औपचारिक रूपमा विभाजित भएको छ । जाँतो चुनाव चिह्न राखेर नाउपाबाट बाहिरिएका रेशम चौधरीले कबिर सोपलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी नेपाल नामको नयाँ दल दर्ताको निवेदन दिएका हुन् । जेनजी उमेर समूहका कबिरलाई अध्यक्ष र सीके राउतबाट विभाजित भएका अब्दुल खानलाई वरिष्ठ उपाध्यक्ष राखेर रेशमले पार्टी बनाएका हुन् । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया