काठमाण्डौंः नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलोपटक पत्रकारको निधन भएको छ ।
कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील पत्रकार ६२ वर्षीय बनारसी वर्माको सोमबार दिउँसो निधन भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यलले जानकारी दिए ।
मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय वर्मा उपचाररत रहेको परिवारले जनाएको छ । मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साँझ रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
उनी नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्षको पदमा पनि रहेका थिए । पत्रकार वर्माको निधनप्रति सङ्घीय सांसदहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाहले दुःख व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, मधेशी पत्रकार समाज, प्रेस सेन्टरलगायत पत्रकार सम्बद्ध संघ संस्थाले समवेदना प्रकट गरेका छन् । स्वर्गीय पत्रकार वर्माको सोमबार नै तौलिहवाको वाण गंगा नदीको रामघाटमा दाह संस्कार गरिएको छ । वर्माका पत्नी, दुई छोरी र दुई छोरा रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया