कार्तिक १७, २०८२ सोमबार November 3, 2025

घनश्यामको नेतृत्वमा नयाँ दल, झलनाथ संरक्षक

अब झलनाथ खनालको नेतृत्वमा पार्टी पुनर्गठन हुन नसक्ने भन्दै घनश्याम अगाडी बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ दलको घोषणा हुँदै छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल संरक्षक र भुसाल अध्यक्ष हुनेगरी छलफल थालिएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहित साना कम्युनिस्टका बीचमा पार्टी एकता गर्ने निर्णयसँगै खनाल–भुसाल समूह असन्तुष्ट बनेको छ । शनिबार काठमाडौंको सुकेधारामा असन्तुष्ट समूहको भेलामा सहभागीहरूले खनाललाई संरक्षक र भुसालको नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपर्ने सुझाव दिएको बताइन्छ ।

समाजवादी मोर्चामा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपासहित मोर्चाबाहिर रहेका केही साना कम्युनिस्टहरूका बीचमा पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । पार्टी एकीकरणको गृहकार्य चल्दैगर्दा यी पार्टीमा आन्तरिक विद्रोह सुरु भएको हो ।

पार्टी एकताको विरोधमा रहेको खनाल–भुसाल समूहनिकट एक नेताका अनुसार अब झलनाथ खनालको नेतृत्वमा पार्टी पुनर्गठन हुन नसक्ने र नेतृत्वमा दोस्रो पुस्ताका भुसाललाई ल्याउनुपर्ने हुन्छ । भेलामा सोही अनुसारका सुझावहरू आइरहेको र छिट्टै नै पार्टी पनुर्गठनको घोषणा हुने तयारी भइरहेको छ ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्म निरौलाले अब सम्मानित नेता खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताए । अब नेतृत्व महासचिव भुसालले गर्नुपर्ने र पुनर्गठित पार्टीको संरक्षकमा खनाल हुनुपर्ने आफूहरूको स्पष्ट सुझाव रहेको उनले बताए ।

‘पार्टी पुनर्गठनको आवश्यकता अहिले छ, हामी पार्टी पुनर्गठन गर्दै अगाडि बढ्ने र पछि अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता गर्दै अगाडि बढ्नुपर्ने हुन्छ,’ पोलिटब्युरो सदस्य निरौलाले भने, ‘पहिला हामी माधवजीहरूसँग अलग हुन्छौं, एक साताभित्रमा हामी राष्ट्रिय कार्यकर्ता भेला गरेर आफ्ना दृष्टिकोण पनि सार्वजनिक गर्छौं ।’

एकीकृत समाजवादीका सम्मानित नेता खनालले माओवादी केन्द्रसँग एकता गर्ने निर्णयप्रति आपत्ति जनाउँदै आफूहरू एकता प्रक्रियामा नगई पार्टी पुनर्गठन गर्ने बताए । पार्टी एकताको निर्णयमै आफूहरूको विरोध भए पनि पार्टी एकताको निर्णय सर्वसम्मत भएको भन्दै झुठो प्रचार गरिएको उनले बताए ।

‘उहाँहरू माओवादी केन्द्रसँग जाने भएपछि कानुनी रूपमा मिले यही पार्टी अघि बढाउँछौं, नमिले नयाँ पार्टी बनाउँछौं,’ खनालले भने । माधवकुमार नेपालले तानाशाही व्यवहार देखाएको भन्दै खनालले एकता गर्न नहुने पक्षमा सयभन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गरे । तत्काल आफूहरू अन्य कुनै पनि पार्टीमा प्रवेश नगर्ने समेत खनालले बताएका छन् ।

सातवटा पार्टीबीच एकता हुने प्रचण्डको ब्रिफिङ

माओवादी केन्द्रको शनिबार बसेको सचिवालय बैठकमा पार्टी एकताका बारेमा छलफल भएको छ । छलफलमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न सातवटा पार्टीसँग पार्टी एकता हुन लागेको जानकारी बैठकमा गराएका छन् ।

माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी एकताका ’boutमा छलफल भएको बताए । सापकोटाका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एमालेबाट विद्रोह गरेको प्रेमबहादुर सिंह नेतृत्वको समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट विद्रोह गरेको चिरण सी नेतृत्वमा गठन भएको पार्टीका बीचमा एकताका लागि टुंगो लागेको छ ।

वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब–करिब फाइनल भइसकेको बताउँदै संयोजक प्रचण्डले बैठकमा प्राविधिक र सांगठनिक कुरामा छलफल गरेको नेता सापकोटाले बताए । एकीकृत समाजवादीको शुक्रबार सम्पन्न बैठकले पार्टी एकता गर्ने निर्णय गरेको थियो । पार्टी एकताकै बारेमा निर्णय गर्न माओवादी केन्द्रले भोलि १७ कात्तिकमा केन्द्रीय आयोजक कमिटीको बैठक बोलाउने तयारी गरेको छ ।

सचिवालय बैठकपछि माओवादी केन्द्रका नेता सापकोटाले एकता प्रक्रियामा रहेका दलहरूको एकता सभा एक साताभित्रै भइसक्ने बताए । उनका अनुसार एकता प्रक्रियामा रहेका दलहरूभित्र फरकमत राख्नेसँग समेत छलफल चलिरहेको छ । एकताको विषयलाई लिएर माओवादी केन्द्र विभाजन नहुने पनि उनले प्रस्ट पारेका छन् ।

सापकोटाले माओवादी पार्टी नफुट्ने दाबी गर्दै भने, ‘जनार्दनजीको तरिका लोकतान्त्रिक र राजनीतिक पनि छैन, उहाँले केही कुरा लेखेर दिनुभएको छ, अध्यक्षसहित सबैले बस्नूस्, छलफल गरौं, छलफल गरेपछि निष्कर्षमा पुगौंला भनेका थियौं, उहाँ (शर्मा)को तरिका अराजक छ तर पार्टी फुट्दैन ।’

यसैबीच माओवादी केन्द्रका नेता जनार्दन शर्माले विचार, सिद्धान्त र कार्यदिशाको स्पष्ट आधारबिना एकीकृत समाजवादीसँग गरिने पार्टी एकता ऐतिहासिक गल्ती साबित हुने बताएका छन् ।

पार्टी सचिवालय बैठकमा आफ्नो लिखित धारणा राख्दै जनार्दनले भने, ‘बिनावैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरू क्रान्तिकारी धार कमजोर पार्नेछ र दक्षिणपन्थी अवसरवादलाई बल पु¥याउनेछ, यस्तो हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्नसक्छ तर आमकम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ, त्यसैले उपयुक्त गृहकार्य, वैचारिक स्पष्टता र एकताबिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’

नेता शर्माले गणतन्त्रको स्थापनापछि माओवादीले जनयुद्धको भावना, संविधानको मर्म र जनआकांक्षाअनुरूप समाजवादको आधार तयार पार्ने सुशासन र पारदर्शिता स्थापित गर्ने अभियान बढाउनुपर्नेमा त्यसको सट्टा नेताहरू सुखसुविधा, पद, चाकडी र सत्ता मोहमा अल्झिएको, पार्टीको वैचारिक आधार र जनपक्षधर चरित्रलाई माथिबाटै कमजोर पारिएको बताएका छन् ।

शर्माले आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएपछि प्रचण्डले नेता शर्मालाई अराजकको संज्ञा दिएका छन् । संयोजक सचिवालय बैठकपछि आफ्नो कुरा राखेर बैठकबाट हिँड्ने शर्माको शैली अराजक भएको टिप्पणी गरे । केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा जनार्दन पनि एकै हुने जिकिरसमेत संयोजक प्रचण्डको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया