कार्तिक १७, २०८२ सोमबार November 3, 2025

आठ दल–समूह मिलेर नेकपा समाजवादी बन्दै

एकतापछि बन्ने नेकपा समाजवादीको प्रचण्ड संयोजक नै रहनेछन् भने माधवकुमार नेपाल सहसंयोजक रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । जेन–जी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको मुद्दा र आन्तरिक विवादले कमजोर बनेका राजनीतिक शक्तिहरूबिच आगामी निर्वाचनकेन्द्रित एकता र ध्रुवीकरणको प्रयास तीव्र बनेको छ । सोहीअनुसार आन्तरिक कलहबिच माओवादी र एकीकृत समाजवादीलगायत आठ दल–समूहले आगामी १८ कात्तिकमा एकता घोषणा गर्ने तयारी गरेका छन् । साथै, माओवादी र एकीकृत समाजवादीभित्रका असन्तुष्ट समूहहरू पनि छुट्टै मोर्चाबन्दीमा उत्रिएका छन् ।

राष्ट्रिय सभागृह वा प्रज्ञा भवनमा औपचारिक कार्यक्रममार्फत ‘नेकपा समाजवादी’ नामक नयाँ पार्टी घोषणा गर्ने र चुनाव चिह्न तारा राख्ने तयारी छ । नयाँ पार्टीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक रहने तय भएको छ ।

एकतामा प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), एमालेबाट अलग भएका प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी, गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा विप्लवबाट अलग भएका चिरण सी समूह सहभागी हुनेछन् ।

एकीकृत पार्टीको विधान, राजनीतिक दस्ताबेज र घोषणापत्र तयार गर्ने जिम्मा माओवादीबाट देव गुरुङ, वर्षमान पुन र रेखा शर्मा तथा एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल, प्रमेश हमाल र प्रकाश ज्वालालाई दिइएको छ । ज्वालाका अनुसार एकता प्रक्रियाका सबै काम अन्तिम चरणमा पुगेका छन् र घोषणा सभापछि पार्टी दर्ता गरी २१ फागुनको निर्वाचनका लागि तयारी सुरु गरिनेछ ।

एकीकृत समाजवादीका वरिष्ठ नेता एवं वार्ता टोली संयोजक डा. बेदुराम भुसालले एकताको अन्तिम तयारीमा रहेको बताए । उनका अनुसार नयाँ पार्टीको नाम नेकपा समाजवादी र चुनाव चिह्न तारा हुनेछ ।

पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवाद, दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहनेछ । तर, बहुपद भने नरहने नेताहरूले बताएका छन् । नेपाली समाजको चरित्र पुँजीवादी, नेपाली समाजको मुख्य समस्या दलाल नोकरसाही पुँजीवाद रहेकाले समाजवादका लागि शान्तिपूर्ण क्रान्ति गर्ने निष्कर्ष छ ।

शनिबार बसेको माओवादी सचिवालयले एकता प्रक्रिया टुंग्याउने र अन्तिम अनुमोदनका लागि १७ कात्तिकमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय लिएको छ । प्रवक्ता अग्नि सापकोटाका अनुसार वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब–करिब टुंगिएका छन् । प्राविधिक र सांगठनिक कुरा केही मिलाउन बाँकी छ ।

एकीकृत समाजवादीले शुक्रबार केन्द्रीय समिति बैठकबाट एकताको निर्णय गरेको थियो भने माओवादीको शनिबार बसेको सचिवालय बैठकले एकताका लागि सैद्धान्तिक र नीतिगत विषय टुंगो लागेकाले छिट्टै एकता गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार एकताको निर्णय अनुमोदन गर्न १७ कात्तिकमा केन्द्रीय समिति बैठक बोलाइएको छ । सापकोटाले एकीकृत समाजवादी र विप्लवको पार्टी सिंगै एकता प्रक्रियामा सहभागी हुने विश्वास लिएको बताए ।

सचिवालय बैठकमा प्रचण्डले एकीकृत समाजवादीसहितका दलहरूसँग छिट्टै पार्टी एकता हुने जानकारी गराएका थिए । आगामी २१ फागुनमा निर्वाचनको मिति तोकिएकाले तत्काल पार्टी एकता गरेर जानुपर्ने आवश्यकता भएको उनले बताएका छन् । ‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि वामपन्थी–समाजवादी ध्रुवीकरण आवश्यक छ । एकीकृत समाजवादीलगायतका दलले एकताको निर्णय गरिसकेका छन् । हामी पनि निर्णय गरेर एकतामा जानुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘मिलेर जाँदा राम्रो परिणाम ल्याउन सकिन्छ । जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ ।’

सचिवालय बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा रहेका दलहरूबिच एक साताभित्रै एकता भइसक्ने बताए । उनका अनुसार एकता प्रक्रियामा रहेका दलहरूभित्र फरक मत राख्नेसँग समेत छलफल चलिरहेको छ । सबै एकताबद्ध भएर एकतामा जाँदै गरेको उनले बताएका छन् ।

सचिवालय सदस्य जनार्दन शर्माले भने एकता प्रक्रिया छाडेर पार्टी पुनर्गठनमा गर्नुपर्ने माग गरेका छन् । सचिवालय बैठकमा उनले धारणा राख्दै उपयुक्त गृहकार्य, वैचारिक स्पष्टता र एकताविना गरिने एकता दीर्घकालीन दृष्टिले हानिकारक हुने दाबी गरेका छन् । हतारमा गरिने एकताले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र व्यक्तिगत स्वार्थ पूरा गर्न मात्रै सीमित हुने शर्माको दाबी छ ।

‘विनावैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ । र दक्षिणपन्थी अवसरवादलाई बल पुर्‍याउनेछ,’ शर्माले भनेका छन्, ‘यस्तो हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ । तर, आमकम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य, वैचारिक स्पष्टता र एकताविना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’

शर्मा आफ्नो धारणा राखेर बैठकबाट बाहिरिएका थिए । आफ्ना कुरा राखेर बैठकबाट बाहिरिने शर्माको शैलीलाई प्रचण्डले अराजकको संज्ञा दिएका छन् । बैठकबाट बाहिरिने क्रममा प्रचण्डले भने, ‘बैठक राम्रोसँग सुरु भएको थियो, उहाँ आफ्नो कुरा राखेर उठेर हिँड्नुभयो, त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मनपर्ने शैली होइन । उहाँले अराजक आरोप लगाउनुभयो ।’

बैठकपछि माओवादी प्रवक्ता सापकोटाले एकताको विषयलाई लिएर पार्टी विभाजन नहुने प्रस्ट पारे । ‘जनार्दनजीको तरिका लोकतान्त्रिक र राजनीतिक पनि छैन, उहाँले केही कुरा लेखेर दिनुभएको छ । अध्यक्षसहित सबैले बस्नुस्, छलफल गरौँ, छलफल गरेपछि निष्कर्षमा पुगौँला भनेका थियौँ । उहाँको तरिका अराजक छ । तर, पार्टी फुट्दैन,’ सापकोटाले भने ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले शर्मा पार्टीका लागि आवश्यक भएको बताए । उनले सिंगै एकीकृत समाजवादीसँग एकताको पहल गर्नुपर्नेमा जोड दिए । ‘हामी फेरि कुराकानी गर्छौँ । अहिले कसैलाई पनि यता र उता गर्ने स्थिति होइन । हामी सबैसँग अहिले झलनाथ कमरेड, घनश्याम कमरेड, प्रभाकर कमरेड सबैसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रयत्न गर्नुपर्छ,’ बैठकपछि पत्रकारको प्रश्नमा श्रेष्ठले भने ।

नयाँ पार्टीको नेतृत्वमा को ?

एकतापछि बन्ने नेकपा समाजवादीको प्रचण्ड संयोजक नै रहनेछन् भने माधवकुमार नेपाल सहसंयोजक रहने भएका छन् । वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत कुनै पनि पद हुनेछैन । ६ महिनाभित्र एकता महाधिवेशन गर्ने समझदारी छ । सबै तहमा संयोजक र सहसंयोजक फरक पार्टीबाट हुनेछन् । जनसंगठनमा इन्चार्ज र सहइन्चार्ज पनि फरक पार्टीबाट हुनेछन् । विभागका प्रमुख र उपप्रमुख पनि फरक पार्टीबाट हुनेछन् । जनसंगठन र जिल्लामा सांगठनिक एकताका लागि कार्यदल बनाएर काम गर्ने तयारी छ । प्रदेश, जिल्ला र जनसंगठनमा पनि संयोजक र सहसंयोजक फरक दलबाट हुनेछन् ।नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया