कार्तिक १७, २०८२ सोमबार November 3, 2025

आन्तरिक कलहमा दलहरू : असन्तुष्ट पक्षहरूलाई मिलाएर अलग दल वा मोर्चा बनाउने प्रयास

नेताहरू आआफ्नै अडानमा रहँदा महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने विवाद कांग्रेसमा पेचिलो बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबैजसो दल अहिले आन्तरिक विवादमा फसेका छन्। गत भदौ २४ पछि सत्ता राजनीतिको किनारामा पुगेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी (नेकपा एस) देखि नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा छन्। बदलिएको राजनीतिक अवस्थामा नयाँ ढंगले जनता माझ जानुपर्ने दबाब दलहरू छन्।

मुलुकको पुरानोमध्येको एक कांग्रेस १५औं महाधिवेशन कहिले गर्ने भन्ने किचलोमा छ। फेरिएको अवस्थामा पार्टीको १५औं महाधिवेशन गरेर फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू छन्।

मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिए ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने अडानमा उनीहरू छन्  तर पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरू निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छन्। यही विवादका कारण गत असोज २८ गतेदेखि सुर भएको केन्द्रीय समिति बैठक स्थगित हुँदै बस्दै गरेको छ। नेताहरू आआफ्नै अडानमा रहँदा महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने विवाद कांग्रेसमा पेचिलो बनेको छ।

भदौ २४ गतेसम्म सरकारको नेतृत्व गरेको एमालेमा पनि पार्टी नेतृत्वलाई लिएर विवाद उत्पन्न भएको छ। तत्कालीन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्नुपर्ने चर्को दबाब एमालेभित्रैबाट परेको छ तर ओली नेतृत्व छाड्न तयार छैनन्। यसको छिनोफानो गर्न उसले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

जेनजी आन्दोलनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने विषयलाई लिएर पनि एमालेभित्र विवाद चुलिन पुगेको थियो। राजनीतिक अवस्था फेरिएपछि भण्डारीको सक्रिय राजनीतिमा आउने विषय सेलाएजस्तो देखिएको छ। मंसिरमा हुने विशेष महाधिवेशनमा भण्डारीको भूमिका कस्तो हुन्छ भन्ने प्रतीक्षामा नेता–कार्यकर्ताहरू छन्।

दस वर्षे हिंसात्मक आन्दोलनपछि शान्तिप्रक्रियामा आएको माओवादी केन्द्र अन्य कम्युनिस्ट पार्टीसँग एकीकरणको गृहकार्यमा छ। एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीसँग एकताको अन्तिम गृहकार्यमा माओवादी केन्द्र छ तर माओवादीभित्र नेतृत्व र अन्य पार्टीसँगको एकता विषयमा मतभेद देखिएको छ।

जनार्दन शर्मासहितका नेताहरू पुष्पकमल दाहालले नेतृत्व छाड्नुपर्ने पक्षमा उभिँदै आएका छन्। नारायणकाजी श्रेष्ठसहितका केही नेताले नेकपा एकीकृत समाजवादीलगायतसँगको एकीकरणमा हतार नगर्न खबरदारी गर्दै आएका छन्। पार्टीभित्र नेतृत्व पुनर्गठन र रूपान्तरणको प्रश्न उठाउँदै श्रेष्ठले बृहत् वामपन्थी एकताको आवश्यकता औंल्याएका छन्।

नेता शर्माले त नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया तत्काल स्थगन गर्न माग गरेका छन्। माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले हतारमा गरिने एकताले कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहासलाई दोहोर्‍याउने मात्र बताएका छन्।

माओवादीका आधारस्तम्भका रूपमा रहेका सहिद, बेपत्ता, घाइते योद्धाको सपना, त्याग र आकांक्षालाई बेवास्ता गर्न नहुने उनले शनिबारको बैठकपछि सञ्चारकर्मीलाई बताएका छन्। उनले भने, ‘यो प्रक्रिया वास्तविक समाधान होइन, यसले कम्युनिस्ट आन्दोलनको विगटनको बाटो रोजेको छ।’

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। स्थायी कमिटी सदस्य विरोध खतिवडाले एकताको निर्णय पार्टीले गरेको शुक्रबार सञ्चारकर्मीलाई बताएका थिए। कात्तिक महिनाभित्र पार्टी एकता घोषणा हुने उनले बताएका थिए। उनले भनेका थिए, ‘सम्भवतः यही महिनाभित्रै राष्ट्रिय भेला गरेर एकताको घोषणा गछौं।’

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयले नेकपा एकीकृत समाजवादीभित्र तीव्र असन्तुष्टि बढाएको छ। सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठसहित एकता निर्णयको विपक्षमा उभिएका छन्।

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवार्दीभित्र असन्तुष्टि बढिरहेका बेला शुक्रबार एमाले अध्यक्ष ओलीले पार्टीबाट अलग भएर गएका नेता– कार्यकर्तालाई घर फर्कन आह्वान गरिसकेका छन्। ओलीको आह्वानले माओवादीसँग पार्टी एकताको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई एमालेमा फर्कने ढोका खुलेको छ तर कतिपय नेताहरूले ओली नेतृत्वमा एमाले रहेसम्म त्यहाँ जान नसकिने बताउँदै आएका छन्।

२०७९ सालको निर्वाचन हुनुभन्दा करिब पाँच महिनाअघि गठन भएको र उक्त निर्वाचनबाट राष्ट्रिय मान्यता पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि आन्तरिक विवाद बढ्दै गएको छ। अध्यक्ष रवि लामिछाने हिरासतमा परेसँगै त्यस पार्टीमा विवाद बढ्दै गएको हो।

वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङलाई पार्टीमा भित्र्याउने र आन्तरिक कार्यसम्पादनको विषयलाई लिएर रास्वपाभित्र मतभेद बढ्दै गएको छ। आन्तरिक मतभेदकै कारण नेत्री सुमना श्रेष्ठ रास्वपाबाट अलग भइसकेकी छन्। पार्टी पुनर्गठन र सुधारको विषय उठाउँदा पार्टी छाडेर जान लागेको भास्य दलभित्रैबाट निर्माण गरिएको गुनासो नेत्री तोसिमा कार्कीले सार्वजनिक रुपमै गर्दै आएकी छन्।

सिके राउत नेतृत्वको जनमत पार्टी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा पनि विवाद बढेको छ। दुवै दलका नेताहरूले अलग र फरक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। निर्वाचन आयोगमा दल दर्ताका लागि केही दिनअघि मात्र निवेदन दिएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (आयोगमा भने ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दर्ताका लागि निवेदन दिइएको छ ) बाट केही नेताले अलग हुने घोषणा गरेका छन्।

चन्द नेतृत्वको पार्टीले एकताका लागि एमालेसहितका दलहरूसँग पनि संवाद थाल्ने जनाइरहेका बेला नेता चिरण पुनले सामाजिक सञ्जालमा चन्दलाई सम्बोधन गर्दै लेखेका छन्, ‘निकै मीठो हाम्रो सहकार्य भएको १३ वर्ष पूरा भएर १४ वर्षमा लाग्दै छ, एकताको विषयमा हाम्रो कुरा मिलेन।’

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूभित्र आन्तरिक कलह तीव्र बन्दै गएका बेला ती दलभित्र असन्तुष्ट नेताहरूलाई समेटेर अलग दल निर्माणका लागि पनि प्रयास भइरहेको छ। नयाँ पार्टी निर्माण गृहकार्यमा रहेका समूहहरूले पनि पुराना दल र तिनका नेताहरूलाई हेरिरहेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलका नेता र विभिन्न पक्षसँग अलगअलग र सामूहिक छलफल जारी राखेको निकट स्रोतको दाबी छ। उनले पुराना दलमा उदार र प्रगतिशील सोच राख्ने नेताहरूलाई मिलाएर अलग दल वा मोर्चा बनाएर अघि बढ्नुपर्ने प्रस्तावसहित छलफल अघि बढाएका छन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया