काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत फुटेको छ । एकीकृतले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेलगत्तै एकीकृत समाजवादीमा विभाजन आएको हो । उता, नेकपा माओवादी केन्द्रमा पनि फुटको खतरा देखिएको छ ।
एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका केही प्रमुख नेताहरूले शनिवार छुट्टै भेला गरी एकता प्रक्रियामा नजाने बरु छुट्टै पार्टी बनाउने निर्णय गरेपछि समाजवादी फुटेको हो । स्थायी कमिटी सदस्यहरू विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसेन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामालगायतले माओवादीसँगको एकतामा नजाने स्पष्ट पारेका छन् । उनीहरू पनि नयाँ पार्टीमा समाहित हुनेछन् । उनीहरूमध्ये केही भने एमालेमा जानसक्ने बताइएको छ ।
यता, शनिवार भएको माओवादी केन्द्रको सचिवालय बैठकमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेसँगै माओवादी केन्द्र पनि विभाजन हुनसक्ने देखिएको हो । केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शर्मामाथि अराजकता मच्चाएको आरोप लगाउनुभएको छ । संयोजक प्रचण्डले पार्टीले एकताका पक्षमा एकमतले निर्णय गरेको र शर्मा पनि अन्तिममा एकता प्रक्रियामा सहभागी हुने दाबी गर्नुभयो । यद्यपि, जनार्दन समूहबाट एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट सन्देश आएपछि माओवादीले अन्य दलसँग एकता गर्ने क्रममा आफ्नै पार्टीमा फुट आउने देखिएको हो ।
सचिवालय बैठकमा नेता शर्माले यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्नुपर्नेमा त्यसो नगरी माओवादी केन्द्रको पार्टीको आधार स्तम्भको रूपमा रहेका सहिद, बेपत्ता, घाइते योद्धाहरूको सपना, त्याग र आकांक्षालाई बेवास्ता गरिएको दाबी गर्नुभयो । उहाँले यो प्रक्रियाले वास्तविक समाधान होइन कि कम्युनिस्ट आन्दोलनको विघठनको बाटो रोजेको आरोप लगाउनुभयो । ‘एकीकृत समाजवादीसँग बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी एकता गर्न खोजिएको बताउँदै शर्माले भन्नुभयो – ‘एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ र दक्षिणपन्थी अवसरवादलाई बल पु¥याउनेछ ।’ माओवादी केन्द्रको सचिवालय बैठकले भने एकीकृत समाजवादी र विप्लवबाट फुटेको समूहसँग एकता गर्ने निर्णय गरेको छ । नेपाल समाचारपत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया